काठमाडौं । सौर्य एयरलायन्सको हवाई जहाज दुर्घटनाका मृत्यु भएकाको परिवारलाई सक्दो साथ दिने प्रतिबद्धता जनाएको छ ।
सौर्य एयरलाइन्स प्रा.लि.ले आज विज्ञप्ति जारी गर्दै जहाज दुर्घटनामा दिवंगत व्यक्तिप्रति मर्माहत र भावविह्वल भएको उल्लेख गर्दै संस्थाले जीवन्त तथा चीर स्मरणीयका लागि काम गर्ने विश्वास दिलाएको छ ।
अध्यक्ष दिपक कमार पोखरेलले जारी गरेको विज्ञप्तिमा सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि निष्ठा पूर्वक साथ, सहयोग र योगदानको उच्च कदर गर्दै पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्ने सबै प्रकारको साथ दिने उल्लेख गरिएको छ ।
अध्यक्ष पोखरेलले प्रतिष्ठित विज्ञहरुको क्षतिको कल्पना गर्न नसकिने बताए । यस क्रममा उनले कम्पनीले मात्रै नभई परिवार, समाज र राष्ट्रले होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको भन्दै दुःख प्रकट गरे ।
यसैबीच मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने अडान छ ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरुको शव पहिचान गरी आज परिवारलाई बुझाउने तयारी गरेको छ ।