काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी)का विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ ।
शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न बैठकमा सकारात्मक छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकपछि बर्तौलाले केही राय लिएपछि सोमबार अन्तिम बैठक बस्ने बताए । यो विषय सत्ता या प्रतिपक्षको नभएको बताउँदै सबैको साझा विषय भएको उनको भनाइ थियो ।
शुक्रबारको बैठकमा सोमबार कानूनमन्त्री र कानून सचिव, सेनाको कानून हेर्ने प्रमुख, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिवलगायतका सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको हो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषय सहमति नजिक पुगेको बर्तौलाले बताएका छन् ।
कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा र नेकपा एमालेका महेश बर्तौला रहेका छन् । टीआरसी विधेयक पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।
मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा ७० प्रतिशत सहमति जुटेको र आज कार्यदलले टुङ्गो लगाउने तयारी गरेको छ ।