टिआरसी विधेयकमा सहमति कायम गर्न कार्यदलको बैठक जारी

0 Shares

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा सहमती कायम गर्न बनेको कार्यदलको बैठक जारी छ । गृह मन्त्रालयमा शुक्रबार विहानैदेखि कार्यदलका सदस्यहरु बैठक बसेर विधेयकलाई अन्तिम रुप दिन लागेका हुन ।

बैठकमा कार्यदलका सदस्य एवं गृह मन्त्री रमेश लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका छन् । कार्यदलले टिआरसी विधेयकमा सहमती कायम गरेर प्रतिवेदन तयार गरी प्रधानमन्त्री केपी शर्मा ओली सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बुझाउने बताएको छ । टिआरसी विधेयकका चार बुदामा विवाद भएकाले सहजीकरण गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।

तीन दलमा सहमती कायम गरेर विधेयकलाई अन्तिम रुप दिने बताएको छ । टिआरसीमा मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक गरिएको हत्या÷दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय टुंग्याउन बाँकी छ।

त्यसैगरी, सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने, मानव अधिकारको उल्लंघनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने र घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषय छन् ।

गत असार १३ गते टिआरसी विधेयकमा सहजीकरण गर्न कांग्रेसबाट लेखक, एमालेबाट बर्तौला र माओवादी केन्द्रबाट शर्मालाई राखेर कार्यदल गठन गरिएको थियो ।

 

 

सम्बन्धित समाचार