प्रचण्डले बैठक बोलाएर रणनीति बनाउने तयारी गर्दै

0 Shares

काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सरकारबाट बाहिरिएपछि उत्साहजनक रुपमा निस्किएको बताउने गरेका छन् । सरकारमा हुँदा भ्रष्टाचार, सुशासन र सामाजिक न्यायको पक्षमा गरेका कामलाई जनतामा लगेर प्रतिपक्ष मोर्चा बलियो बनाउनुका साथै त्यसको लाभ आफूले लिनेमा ढु्क्क देखिएका छन् ।

सत्ताको बागडोर सम्हालेको १ एक वर्ष ६ महिनामा सजिलै प्रतिपक्षमा पुग्ने प्रचण्डले सोचेका थिएनन् । सरकारबाट प्रभावकारी काम गरेर हस्तक्षेप गरेमा पार्टी र संगठन बलियो बनाउने योजनामा थिए । त्यसको ठिक विपरित सत्ताबाट बाहिरिएपछि अब पार्टी बैठक बोलाएर संगठनलाई व्यवस्थित बनाउँदै समाजवादी मोर्चा नेपाललाई समेत प्रभावकारी बनाउने ध्याउन्नमा लागेका छन् ।

प्रचण्डले प्रतिपक्ष मोर्चालाई बलियो बनाउनुका साथै पार्टीको रणनीति बनाउन शुक्रबार पदाधिकारी बैठक बोलाएका छन् । आगामी साउन ११ गते शुक्रबार पदाधिकारी बैठक बसेर योजना र रणनीति बनाउने प्रचण्डले बताए । नेकपा संस्थापक नरबहादुर कर्माचार्यको ११ स्मृति दिवसको उपलक्ष्यमा बोल्दै प्रचण्डले पार्टीका बैठक बोलाएर छलफल गरेपछि योजना बनाउन सजिलो हुने जिकिर गरे ।

‘हामीले शुक्रबार पदाधिकारी बैठक बोलाएका छौं । त्यसपछि स्थायी समिति बैठक बोलाउने छौं । त्यसपछि केन्द्रीय समिति बैठक बोलाएर पार्टी संगठनका जनभेला गर्ने तयारी गरेका छौं’ उनले भने,‘पार्टी संगठन नै बलियो बनाएर जानुका विकल्प छैन । पार्टी बलियो नहुँदा सोचे जस्तो काम गर्न सकिएन । सरकारमा हुँदा गरेका काम जनतामा पुर्याएर पार्टी बनाउने प्रयाप्त आधारहरु छन् ।’ सरकारमा हुँदा गिरीबन्धुदेखि भुटानी शरणार्थी प्रकरणमा कारबाही गर्न खोज्दा सत्ताबाट बाहिरिनु परेको सर्वसाधरण जनताले समेत बुझेको दाबी गरे ।

प्रचण्डले पार्टीका सबै बैठक बोलाएपछि जनवर्गीय संगठनको भेला सम्मेलन गरेर पार्टीकै विशेष महाधिवेसन गर्ने तयारी गरेका छन् । त्यतिबेलासम्म पार्टीको अवस्था बुझेर स्टेप चाल्न सहज हुने उनको बुझाई छ । त्यसो हुँदा पार्टी कति शक्तिशाली बनाउन सकिन्छ भन्ने बुझ्ने समेत राम्रो अवसर हुन सक्ने देखिएको छ ।

उता प्रचण्डले सत्ताबाट बाहिरिए लगत्तै समाजवादी मोर्चालाई सक्रिय बनाएका छन् । त्यो मोर्चा प्रतिपक्ष शक्ति हुनुका साथै संसदीय अंक गणितमा समेत प्रयोग गर्न सकिने बुझाईमा छन् । नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव समुह, नेपाल समाजवादी पार्टी महेन्द्रराय यादव समुह, लगायत शक्तिलाई एक ढिक्का बनाएर प्रतिपक्ष मोर्चालाई बलियो बनाउन लागेका छन् ।

यस्तै रास्वपा समेत तत्काल सत्तामा नजाने भएपछि संसदमा बार्गेनिङ पोइन्टको रुपमा प्रयोग गर्न सकिने अवस्था छ । माओवादीदेखि, रास्वपा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा समेत प्रतिपक्षमा भएकाले सत्तापक्ष भन्दा प्रतिपक्ष मोर्चा बलियो हुने देखिएको छ । त्यसको फाइदा माओवादीले समेत लिन सक्ने प्रचण्डको बुझाई छ ।

सम्बन्धित समाचार