काठमाडौं । सरकारले सौर्यको जहाज दुर्घटनामा निधन भएकाको सम्झना गरी बिहीबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
यस्तै, छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
साथै सरकारले आगामी दुर्घटना हुन नदिन हाल संचालनमा रहेका विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नागरिक उडड्यन प्राधिकरणले यसबारे अनुगमन गर्न निर्देशन दिएको उनले बताए ।