काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आम जनता पार्टी (आजपा)ले पनि विश्वासको मत नदिने भएको छ । पार्टी अध्यक्ष प्रभु साहले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन् । यसअघि चार दलले विश्वासको मत नदिने बताएका थिए ।
आइतबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका छन् । यस क्रममा साहले विपक्षीमा मतदान गर्ने बताएका हुन् । ‘ओलीलाई विश्वासको मत दिने कुरा हुँदैन, हाम्रो पार्टीले विपक्षीमा नै मतदान गर्ने छ,’ उनले भने ।
आजपमा साह मात्रै सांसद भए पनि विपक्षमा मतदान गर्ने भएका हुन् । तर, अर्का स्वतन्त्र सांसद अमरेश कुमार सिंहले ओलीलाई विश्वासको मत दिने भएका छन् ।
गत असार १७ गते राति संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यको यात्रा सुरु गरेसँगै अोली प्रधानमन्त्री बनेका थिए ।
उनलाई कांग्रेस र एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टीलगायतले विश्वासको मत दिने भएका छन् ।
सदनमा प्रतिनिधित्व गर्ने चार दलले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदानको निर्णय गरेका छन् ।
यी दलको पक्षमा संसदमा ७७ सदस्य छन् । यसअघि तीन वटा दलले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा विश्वासको मत दिएका थिए ।
विश्वासको मत हासिल गर्न प्रतिनिधिसभामा उनले कम्तीमा १३८ मत पाउनु पर्छ । तर, दुई ठूला दलहरूका सांसद मात्रै भए पनि ओलीले विश्वासको मत पाउने अवस्था रहेको छ ।