अखिल क्रान्तिकारीको अध्यक्ष बन्न चर्को प्रतिस्पर्धा, को-को छन् दौडमा ?

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन आगामी असोज २ गतेदेखि ५ गतेसम्म काठमाडौंमा हुँदै छ । राष्ट्रिय सम्मेलनबाट अध्यक्षका लागि १७ जना उपाध्यक्षसहित महासचिवले आकांक्षा राखेका छन् ।

अध्यक्ष पञ्चा सिंहको कार्यकाल सकिएर बिदा हुने भएपछि पार्टी केन्द्रीय समितिमा पुगेकी छन् । उनी विद्यार्थी संगठनबाट सहज बिदाइ भएर नेतृत्व छाड्न खोजेकी छन् ।

यसैबीच अध्यक्षको प्रतिस्पर्धामा पवन कार्की, नारायण खनाल, केशव रावल, मिलन एमसी, नरेश रेग्मी, तुक्मान महरा, जीपी मैनाली, इन्द्र भुसाल, क्षितिज सापकोटा, सूर्यनारायण साह, मदन भुल, मदन भट्टराई, गजेन्द्र देव, प्रविना अधिकारी, अमरराज शाही, डा. अच्युत भट्ट, लक्ष्मी जोशी छन् ।

महाधिवेशन नजिकिएसँगै उपाध्यक्षहरू जसरी भए पनि अध्यक्ष बन्नु पर्छ भन्ने मान्यताका साथ देश दौडमा लागेका छन् । कतिपय आफू अनुकूल अध्यक्षलाई सहयोग गरेर केन्द्रीय समितिमा जान खोजेका छन् ।

अखिल क्रान्तिकारीका १७ जना उपाध्यक्ष पुनः नदोहोरिने भएपछि अध्यक्षको दाबी गरेर केन्द्रीय समितिमा प्रवेश गर्न खोजेका छन् । महासचिव दिपेश पुन अध्यक्षका लागि देश दौडहामा लागेका छन् । उनका लागि अध्यक्ष नभए उपाध्यक्ष वा पार्टी केन्द्रीय समितिमा जान दुवै ढोका खुला छ । तर, उनी अध्यक्षको दाबी छोड्ने पक्षमा छैनन् ।

अध्यक्षमा सबै उपाध्यक्ष र महासचिवले दाबी गरे पनि विभिन्न गुट र समूहबाट मिलाउँदै जाँदा ३ देखि ४ जनाबीच अध्यक्षमा चुनावी प्रतिस्पर्धा हुने देखिएको एक विद्यार्थी नेताले बताए ।

मूल पार्टी माओवादी केन्द्रले समेत सर्वसम्मत नेतृत्व चयन नभए चुनावी प्रतिस्पर्धामा जान ढोका खुला राखिसकेको छ । त्यसैले यो पटकको चुनावी माहोल रोचक हुने देखिएको छ ।

अहिले अखिल क्रान्तिकारीमा भएका नेताहरुबाट को नेतृत्वमा पुग्छ ? भन्न सक्ने अवस्था छैन । शक्तिशाली व्याक्तित्व भएका नेताहरु नदेखिएकाले अहिले कुनै आंकलन गर्न सक्ने अवस्था छैन । कुन पक्षबाट को को आउछन् ? त्यसपछि मात्रै चुनावी आंकलन गर्न सहज हुने देखिएको छ ।

राष्ट्रिय सम्मेलन हुन दुई महिना बाँकी भएकाले को नेतृत्वमा पुग्छ ? भन्ने देखिएको छैन । आगामी महिनाभरि इकाई सम्मेलन गर्ने कार्यक्रम रहेको उपाध्यक्ष नारायण खनालले जानकारी दिए ।

वर्षे बिदा भएका कलेजको इकाई सम्मेलन भदौ १० गतेसम्म गर्ने तयारी छ । यस्तै, भदौ १५ गतेसम्म जिल्ला र भदौ २५ गतेसम्म प्रदेशको सम्मेलन गर्ने खनालले बताए ।

तत्कालीन अखिल क्रन्तिकारीका अध्यक्षमा रञ्जित तामाङको कार्यकालमा चुनावी प्रतिस्पर्धा भएपछि दोस्रो पटक चुनावी प्रतिस्पर्धा हुन लागेको हो । अहिले भएका अखिल क्रान्तिकारीका सबै नेताहरू चुनावमा जान तयार भएकाले चुनाव हुने निश्चित जस्तै छ ।

सम्बन्धित समाचार