काठमाडौँ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादन बन्द भएको छ । गत शुक्रबार बेलुकीदेखि अत्यधिक वर्षा भएर नदीमा ठूलो बाढी आएपछि आयोजनाले सतर्कता अपनाउँदै ६ वटा टर्वाइनबाट उत्पादन बन्द गरेको हो ।
माथिल्लो तामाकोशी विद्युत उत्पादन गृह प्रमुख पूर्णगोपाल रञ्जितले आयोजनाको बाँध क्षेत्रमा २८५ घनमिटरसम्म पानी मापन भएको जानकारी दिएका छन् । आयोजनाको सुरक्षाका लागि विद्युत गृह नै बन्द गर्नु पर्ने भएकाले शुक्रबार राती साँढे १ बजेपछि उत्पादन बन्द गरेको उनले बताए ।
२०० घन मिटरभन्दा बढी पानीको सतह पुगेपछि समान्यतः आयोजनामा पुग्न सक्ने सम्भाब्य क्षतिलाई आकलन गरी विद्युत गृह बन्द गर्ने गरिन्छ । बाढीका कारण तामाकोशीको बाँधस्थलका सबै ढोका खोलिएका छन् । तामाकोशीमा बाढी आएसँगै विधुतगृह रहेको गोगरमा सडक, विद्युत केन्द्रको टेलरेसका संरचना र ३३ केभी प्रशारण लाईनका विद्युतका पोलहरुमा क्षति पुगेको छ ।
तामाकोशीको बाँधस्थल माथिल्लो क्षेत्रबाट आएको गेग्रानले भरिएको छ । २०० घनमिटरभन्दा कम वहावमा तामाकोशी बग्न थालेमा उत्पादन पुनः शुरु गरिने उनले बताए ।
माथिल्लो क्षेत्रमा वर्षात् घट्दै गएका कारण नदीमा जलस्तर अपरान्हसम्ममा २५० घनमिटरसम्म रहेको प्रमुख रञ्जितको भनाइ उद्धृत गर्दै स्थानीय पत्रकार नवराज शिवाकोटीले बताएका छन्।
तामाकोशी नदीको सहायक नदी लप्ची खोला र जुम खोलाका केहि स्थानमा ठाउँमा पहिरोका कारण बाढी आएको हुन सक्ने अनुमान छ । लामाबगरदेखि लप्ची जाने सडक निर्माणका क्रममा निस्किएको ढुङ्गा माटो खोलामा झरेको छ ।
त्यसले पनि नदी थुनिने र खुल्ने क्रम हुँदै आएको छ । माथिबाट आएको बाढीले ल्याएका गेग्रानले माथिल्लो तामाकोशीको बाँध भरिदै आएको छ ।