काठमाडौँ । देशको सबैभन्दा ठूलो सुपर मार्केट्स चेन भएको भाटभटेनी सुपर स्टोर्सले थप दुई हजार युवाका लागि रोजगारी दिने घोषणा गरेको छ । अहिले भाटभटेनीमा छ हजार बढीले रोजगारी पाइरहेका छन् ।
भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार देशमा युवाहरूका लागि रोजगारीको अवसर कम भयो भन्ने जनगुनासोलाई ध्यानमा राख्दै भाटभटेनीले रोजगारीको अवसर सिर्जना गर्ने निर्णय गरेको हो ।
काठमाडौंसहित देशभर रहेका भाटभटेनी स्टोरमा आफ्नो पढाई चालु राख्दै काम गर्नचाहने मेहनती युवा युवतीका लागि ‘पार्ट टाइम’ रोजगारी उपलब्ध गराउने सोच अनुरुप यो निर्णय लिइएको गुरुङले बताएका छन् ।
हालसम्म भाटभटेनीमा काम गर्न चाहनेहरूले आठ घण्टा काम गरेर महिना दिनमा सोही अनुसारको तलब बुझ्दै आएकोमा नयाँ योजना अनुसार रोजगारी पाउनेहरूलाई फरक नियम लागु हुने बताइएको छ । नयाँ प्रक्रिया अनुरुप जागिर खाने र काम गर्ने रोजगारलाई हरेक हप्ताको अन्त्यमानै उनिहरूले सो हप्ता कमाएको तलब दिईने व्यवस्था गरिएको पनि गुरुङले बताएका छन् ।
यस्तो जागिरको मौका २१ वर्ष भन्दा कम उमेर भएका र कुनै कलेजमा अध्ययनरत रहेका युवा–युवतीलाई मात्र दिइने छ । यसरी जागिर पाउने युवा–युवतीले दिनको चार घण्टामात्र र हप्तामा पाँच दिने काम गर्नेछन् ।
यसरी जागिर पाउने युवाहरूलाई उनीहरूले कुन दिन कुन समयमा आफ्नो ड्युटी गर्न सक्छन् सकभर सोही अनुसार काम दिइने व्यवस्था मिलाइने छ ।
सरकारले सबै नागरिकलाई रोजगारी सिर्जना गर्न नसक्ने भएकाले पनि निजी क्षेत्रका तर्फबाट सरकारलाई साथ दिन यो योजना ल्याइएको उनले बताए ।