काठमाडौं । रिपोर्टस क्लब नेपालका अध्यक्ष एवं पत्रकार ऋषि धमलाले राज्यलाई तिर्नु पर्ने ३८ लाख रुपैयाँ तिर्न आनाकानी गर्दै आएका छन् ।
उनले समाज कल्याण परिषद्अन्तर्गतको भृकुटीमण्डपको भवन प्रयोग गरेवापत राज्यलाई ३८ लाख ४१ हजार २ सय रुपैयाँ बक्यौता नतिरेका हुन् । यसरी बक्यौता नतिरेका नयाँ नभएर ७/८ वर्ष पुरानो रकम रहेको समाज कल्याण परिषद्ले जनाएको छ ।
पत्रकार धमलाले समाजक ल्याणको उक्त भवनमा पैसा नदिएर रिपोर्टस क्लब राखेका हुन् । यसरी भाडा नदिएर नदिनेमा रिपोर्टस् क्लबका अध्यक्ष धमला मात्रै नभएर ५१ संघ सस्था छन् । जसबाट कूल ६ करोड ८१ लाख ९६ हजार रुपैयाँ बक्यौता छ ।
महालेखापरीक्षकको ६१ औँ प्रतिवेदनले राज्यको तिर्नु पर्ने बक्यौता तत्काल तिर्न निर्देशन दिएको छ । समाज कल्याण परिषद्ले राज्यलाई तिर्नु पर्न बक्यौता तिर्न बारम्बार ताकेता गर्दासमेत अटेर गरेपछि ३५ दिने सार्वजनिक सूचना जारी गरेर असुल गर्ने तयारी गरेको छ ।
यद्यपि, परिषद् पनि राजनीतिक दबाबमा परेर अझै सार्वजनिक सूचना जारी गरेको छैन । तर, रिपोर्टस क्लबका अध्यक्ष धमला उल्टै राज्यलाई तिर्नु पर्ने रकम नतिरेर मिनाह गर्न प्रधानमन्त्रीदेखि मन्त्रीसम्म धाउने गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई भेटेर मिहना गर्न दबाब दिने गरेको मन्त्रीको सचिवालयका एक सदस्यले बताए ।
‘धमला जी मन्त्री ज्यूसँग प्रायः भेट्न आउनुहुन्छ, राज्यलाई तिर्नु पर्ने ३८ लाख मिनाह गर्नु पर्यो भनेर दबाब दिनुहु्न्छ, क्लब चलाएर राज्यलाई योग्दान गरेको छु, मलाई राज्यले सहयोग गर्नु पर्छ भन्नु हुन्छ’ मन्त्रीका सचिवालय ती सदस्यले भने, ‘मन्त्रीले भनेर बक्यौता मिनाह हुँदै भोलि अख्तियार गाह्रो पारिहाल्छ, व्यक्तिले तिर्नुको विकल्प छैन, मन्त्रीले व्यक्तिगत रुपमा तिर्ने कुरा भएन ।’
राज्य संयन्त्रलाई दबाबमा पारेर समाज कल्याणको भवनको भाडासहित स्टल, मेलालगायत विविध प्रयोजनमा लिएर रकम नतिरेकाहरु पछिल्लो समय समस्यामा परेका छन् । राज्यको सम्पत्ति दुरुपयोग गर्नेहरु पछिल्लो समय मिनाह गर्ने व्यवस्था नभएपछि बक्यौता तिर्न नसक्दा आत्तिका छन् ।