एनपीएल विजेता टिमलाई बधाई दिँदै प्रधानमन्त्रीले जनाए आठवटै क्लबका क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिवद्धता

0 Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिएका छन्।

शनिबार भएको फाइनलमा सुदूरपश्चिमले उपाधि उचालेलगत्तै साँझ सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका हुन्।

उनले सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुने प्रतिवद्धतासमेत जनाएका छन्।

‘नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुनेछन्। क्रिकेट रंगशाला नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिनेछ’ प्रधानमन्त्रीले भनेका छन्, ‘फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ। आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रकृया अघि बढाईनेछ।’

क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार रहेको उनले स्पष्ट पारेका छन्।

उनका अनुसार निर्माण गरिने रंगशालाको विवरण यसप्रकार छन्।
१. विराटनगर किंग्स – बैजनाथपुर क्रिकेट रंगशाला
२. लुम्बिनी लायन्स – सिद्धार्थ क्रिकेट रंगशाला
३. कर्णाली याक्स – सुर्खेत क्रिकेट रंगशाला
४. सुदूरपश्चिम रोयल्स – फाप्ला क्रिकेट रंगशाला
५. काठमाडौं गुर्खाज -कीर्तिपुर क्रिकेट मैदान
६. पोखरा एभेन्जर्स – पोखरा क्रिकेट रंगशाला
७. जनकपुर बोल्ट्स – रामजानकी क्रिकेट रंगशाला
८. चितवन राइनोज -गौतमबुद्ध क्रिकेट रंगशाला

सम्बन्धित समाचार