काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिए ।
उनका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएका छन् । निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले आउँदो डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउने छ ।
‘अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ। तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउने भन्नुभएको छ,’ मन्त्री पोखरेलले भने । एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी बनाएर गर्ने भन्ने विषय भने टुङ्गिन बाँकी रहेको उनले बताए ।
‘तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो। कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने र कहिले गर्ने भन्ने विषयमा टुङ्गिन बाँकी छ,’ मन्त्री पोखरेलले भने । उनका अनुसार फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई ‘थर्ड पार्टी इन्टरफेरेन्स’का रुपमा बुझेको थियो । तर, सरकारले नेपालको आफ्नै कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उनले बताए ।
‘राज्यले गर्ने काम आफैँ गर्छ। देशको कानुनअनुसार काम हुन्छ। त्योभन्दा बाहेक हामीले केही हस्तक्षप गर्दैनौँ भनेर उहाँहरूलाई जानकारी गरायौँ। त्यसमा उनीहरू सकारात्मक हुनुभयो,’ मन्त्री पोखरेलले भने । सरकारले नेपाली फुटबलप्रति देखाएको चासोलाई पनि फिफाले सकारात्मक रुपमा लिएको उनको भनाइ छ ।
एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए ।