एनपीएलको फाइनल खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?

0 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज भिड्दै छन् । फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ ।

एनपीएलका अघिल्ला दुई संस्करणमा पनि सुदूरपश्चिम रोयल्स फाइनल पुगेको थियो । पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुर बोल्ट्सले उपाधि जित्यो । सन् २०२४ डिसेम्बर २१ मा भएको फाइनलमा जनकपुरले सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

दोस्रो संस्करणमा पनि सुदूरपश्चिम फाइनलसम्म पुगेको थियो । सन् २०२५ डिसेम्बर १३ मा भएको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्सले पहिलो पटक उपाधि जितेको थियो ।

उक्त खेलमा सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमा समेटिएको थियो । लुम्बिनीले ९ ओभरमै चार विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यससँगै सुदूरपश्चिम लगातार दुई संस्करणमा उपविजेतामा सीमित भएको थियो ।

तेस्रो संस्करणमा लुम्बिनीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै लिग चरणमा शीर्ष स्थान हासिल गरेको थियो । ११ अंकसहित पहिलो स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यस संस्करणमा लिग चरणमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो ।

यता, पहिलो क्वालिफायरमा पराजित भएपछि सुदूरपश्चिमले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नु परेको थियो । बिहीबार भएको खेलमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो ।

योसँगै सुदूरपश्चिमले पहिलो पटक एनपीएल उपाधि जित्ने अवसर पाएको छ । साविक विजेता लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

सम्बन्धित समाचार