भारत ‘ए’सँग नेपालको लज्जास्पद हार, ११.३ ओभरमा २६ रनमै अलआउट

0 Shares

काठमाडौं । एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेलमा लज्जास्पद हार बेहोरेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाल भारत ‘ए’सँग ३०६ रनले पराजित भएको हो । ३३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै अलआउट भयो । नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका पाँच ब्याट्सम्यान शून्य रनमै आउट भए । ओपजरद्वय कुशल भुर्तेल र अर्जुन कुमाल खाता नै नखोली आउट भए भने बसिर अहमद, लोकेश बम र सन्दीप लामिछाने पनि शून्य रनमै पभेलियन फर्किए ।

पवन सर्राफ र राशिद खानले ६–६ रन जोडे भने नन्दन यादवले २ तथा प्रतिश जिसीले ४ रन जोडे ।

नेपालको इनिङ्स ध्वस्त पार्न भारतका प्रिन्स यादवले पाँच, हर्षित राणाले चार तथा शाहवाज अहमदले एक विकेट लिए ।

त्यसअघि कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको भारतले ५० ओभरमा ९ विकेटको क्षतिमा ३३२ रन जोड्यो ।

कुमार कुशाग्र र कप्तान तीलक वर्माले शतकीय पारी खेले । कुशाग्रले ११७ तथा वर्माले १०७ रन जोडे । वैभव सूर्यवंशीले २६ रन बनाए भने सूर्यान्श शेड्गेले अविजित ३६ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललीत राजवंशीले तीन–तीन तथा नन्दन यादवले दुई विकेट लिए । पवन सर्राफले एक सफलता हात पारे ।

सम्बन्धित समाचार