काठमाडौं । काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा प्रवेश गरेको छ । योसँगै चितवनले फाइनल प्रवेश गर्न भोलि सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । आजको खेलमा पराजित काठमान्डु प्रतियोगिताबाट बाहिरिएको छ ।
चितवनले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएको काठमान्डुले २० ओभरमा ९ विकेटको क्षतिमा १४३ रनमा समेटिएको थियो । काठमान्डुले पावरप्लेमा २ विकेट गुमाएर ३६ रन मात्रै बनाएको थियो ।
विलियम बोसिस्टोले एक छेउबाट शानदार ब्याटिङ गर्दै काठमान्डुको इनिङ्स सम्हाल्ने प्रयास गरे । उनले २८ बनमा ३७ रन जोडे । त्यसको लगत्तै काठमान्डुले चौथो विकेटको रुपमा राशिद खानलाई गुमायो । उनी १५ बलमा १२ रन जोड्दै आउट भए ।
पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका सहान अराच्चिगेले १३ बलमा २४ रन जोडे । कप्तान करण केसीले ८ बलमा १ रनमात्रै बनाए । लगत्तै ब्याटिङमा आएका जहानदाद खान पनि १ रनमै आउट भए । १० औं नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीले नटआउट ३० रन जोडे ।
बलिङतर्फ चितवनका रिजन ढकाल चार विकेट लिए । उसामा मीरले तीन विकेट लिँदा कुशल मल्ल र सलाहुद्दिन खानले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनाएको थियो । चितवनले तेस्रो ओभरमा पहिलो विकेट गुमायो । देव खनाल १५ बलमा १७ रनमा आउट भए ।
चितवनले पावरप्लेमा २ विकेट गुमाएर ३४ रन जोड्यो । आठौँ ओभरमा कामिल मिशाराले जीवनदान पाएसँगै उनले कीर्तिमानी रन बनाए । चौथो नम्बरमा ब्याटिङमा आएका रवि बोपाराले मिशारालाई साथ दिँदै इनिङ्स सम्हाले ।
मिशाराले एनपीएल इतिहासकै उच्च स्कोर बनाए । उनी १२० रनमा नटआउट रहे । उनले कर्णाली याक्सका मार्क वाटको उच्च स्कोरको कीर्तिमान तोडेका हुन् । वाटले गत सिजन लुम्बिनी लायन्सविरुद्ध ११४ नटआउट रन बनाएका थिए ।
यस्तै कप्तान बोपाराले ४२ बलमा ५३ रन बनाए । बलिङतर्फ काठमान्डुका करण केसी र राशिद खानले दुई दुई विकेट लिए ।