विमानस्थलबाट ६३६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

0 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४२ वर्षीय झान गुओकिङ्ग रहेका विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । झान हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौं आएका थिए ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा निजले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा सुन जस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ फेला परेको थियो ।

उक्त पदार्थको तौल ६३५ दशमलव ९६ ग्राम रहेको प्रहरीले जनाएको छ । भन्सार छली गरी अवैध रुपमा ल्याउन खोजिएको अवस्थामा उक्त पदार्थ बरामद गरी झानलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी दिए ।

सम्बन्धित समाचार