काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त सिटिजन्स बैंक इन्टरनेसनलको नुवाकोटस्थित देवीघाट शाखा बट्टारमा स्थानान्तरण गरिएको छ। बैंकले विदुर नगरपालिका-२, बट्टारबाट मंगलबारदेखि बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।
नयाँ स्थान यसअघि शाखा रहेको देवीघाटबाट करिब सात किलोमिटरको दूरीमा छ। स्थानीय सेवाग्राहीलाई सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउन शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ। यससँगै बागमती प्रदेशमा बैंकका ५६ शाखा सञ्चालनमा छन्।
बट्टारमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थितिमा शाखाको शुभारम्भ गरिएको हो। कार्यक्रममा पोखरेलले बाढीबाट देवीघाट शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि ग्राहकको सेवामा पहुँच सुनिश्चित गर्न बट्टारबाट सेवा सञ्चालन गरिएको बताए।
उनले प्रतिकूल परिस्थितिमा पनि धैर्य र जिम्मेवारीपूर्वक काम गर्दै शाखा पुनः सञ्चालनमा ल्याउन योगदान दिएका कर्मचारीको प्रशंसा गरे। बैंकका अनुसार बाढीले देवीघाट शाखामा पूर्ण क्षति पुर्याए पनि त्यहाँ कार्यरत कर्मचारी सुरक्षित रहन सफल भएका थिए।
बट्टार शाखाबाट ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न रिटेल बैंकिङलगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ। साना तथा कर्पोरेट व्यवसायीको वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसमेत बैंकले राखेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने पनि जनाएको छ। शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोग, शरीरको वस्तुमान सूचकाङ्क (बीएमआई) र मधुमेह परीक्षणलगायतका सेवा उपलब्ध गराइनेछन्।
बैंकका अनुसार उसले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको छ। फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्डसमेत सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।