प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका–८, दिहाल्नामा सञ्चालित लालीगुराँस टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधि रोयल झुङ्दी क्रिकेट क्लबले जितेको छ।
शुक्रबार सम्पन्न फाइनल खेलमा तुषारा क्रिकेट क्लबलाई पराजित गर्दै रोयल झुङ्दीले उपाधि आफ्नो नाममा लेखाएको हो। उपाधिसँगै रोयल झुङ्दीले नगद एक लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। फाइनलमा पराजित तुषारा क्रिकेट क्लबले उपविजेतामा चित्त बुझाउँदै नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमका अध्यक्ष गोविन्द गिरीका अनुसार प्रतियोगितामा सहभागी १७ टोलीलाई पछि पार्दै रोयल झुङ्दी च्याम्पियन बनेको हो।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई पुरस्कार वितरण गरेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष महतरा क्षेत्रीले खेलकुद युवापुस्तालाई सकारात्मक गतिविधिमा जोड्ने महत्वपूर्ण माध्यम भएको बताए। खेलकुदले युवाको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावनाको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।
उनले ग्रामीण क्षेत्रमा आयोजना हुने यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान गर्दै खेलाडीलाई पालिका, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
स्थानीय सरकारले खेलकुद पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि र प्रतिस्पर्धात्मक वातावरण विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अध्यक्ष महतरा क्षेत्रीले सबै विधाका खेलकुदलाई समान रूपमा अघि बढाउने नीति रहेको स्पष्ट पारे ।
त्यस्तै, दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमका अध्यक्ष गोविन्द गिरीले ग्रामीण क्षेत्रमा क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई संस्थागत गर्न प्रतियोगिता महत्वपूर्ण बनेको बताए।
उनले प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लामा क्रिकेट खेलको विकास र विस्तारमा सकारात्मक योगदान पुर्याएको धारणा राखे।
खेलकुद गतिविधिमार्फत ग्रामीण क्षेत्रको पहिचान र खेल पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको विश्वास थियो।
गोविन्द गिरीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा झिमरुक गाउँपालिका–७ का वडाध्यक्ष कृष्णबहादुर जिसी, युवा नेता मिलन एमसी, जनप्रतिनिधि, स्थानीय समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कात्तिक ७ गतेदेखि सञ्चालन भएको लालीगुराँस टी–२० कप क्रिकेट प्रतियोगितामा विभिन्न स्थानका १७ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।
ग्रामीण क्षेत्रमा क्रिकेट खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलकुद पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता उत्साहजनक सहभागितासहित सम्पन्न भएको आयोजकको भनाइ छ।