काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नरेन्द्र मोदीले प्रधानमन्त्री पद तथा गोपनियताको शपथ ग्रहणमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।
यस क्रममा प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका थिए ।
भारतीय जनता पार्टी (भाजपा) नेता मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । उक्त समारोहपछि दाहाल र मोदीबीच भेटवार्ता हुने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
प्रधानमन्त्री दाहालका साथमा उनकी स्वकीय सचिव गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी छन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।