तराईमा बढ्यो तापक्रम- ४४ डिग्री नाघेपछि सचेत हुन आग्रह

0 Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तराईमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन आग्रह गरेको हो ।

विभागका मौसमविद् विनु महर्जनले मुख्य गरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिए ।

विभागले भनेको छ, ‘तराईका भूभागमा जेठ २८ गतेसम्म तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

मौसमविद् महर्जनका अनुसार यसअघि नेपालगञ्जमा यो वर्षको सबैभन्दा बढी ४४.२ डिग्री र धनगढीमा ४४.१ डिग्री तापक्रम मापन भएको थियो ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुनेजस्ता रहेकाले सोबाट बच्नु पर्ने मौसमविद् महर्जनको भनाइ छ ।

सम्बन्धित समाचार