काठमाडौं । नेपालको डिजिटल वालेट इसेवाले जात्रा पर्वलाई सुरक्षित र उल्लासमय रूपमा मनाउन लक्षित गर्दै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको उक्त बीमा योजना १० रुपैयाँमै खरिद गर्न सकिनेछ।
इसेवाका अनुसार असोज ७ गतेदेखि असोज १३ गतेसम्म सात दिनका लागि लागू हुने यो योजनाले जात्रा मनाउने क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरणमा सहयोग गर्नेछ।
योजनाअन्तर्गत बीमितले कुल २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा पाउनेछन्। यसमध्ये दुर्घटना बीमाअन्तर्गत २ लाख २० हजार रुपैयाँ र अस्पताल खर्च सहायताअन्तर्गत १० हजार रुपैयाँसम्मको सुविधा उपलब्ध हुनेछ।
जात्रा पर्वमा हुने भीडभाड, आवतजावत तथा विभिन्न गतिविधिका क्रममा आकस्मिक दुर्घटनाको जोखिम हुन सक्ने भएकाले त्यस्ता घटनाबाट उत्पन्न आर्थिक भार कम गर्न ‘जात्रा केयर’ उपयोगी हुने इसेवाले जनाएको छ।
यो बीमा योजना इसेवा एपमार्फत सहज रूपमा खरिद गर्न सकिनेछ। इसेवाले जात्रा पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय रूपमा मनाउन सबैलाई सचेत रहन आग्रह गर्दै योजनाबाट लाभ लिन अनुरोध गरेको छ।