काठमाडौँ । मानसिक स्वास्थ्यको प्रवद्र्धन, रोकथाम, प्रारम्भिक पहिचान तथा पालिकाको मानसिक स्वस्थ्य नीति र प्रणालीलाई सुदृढ गर्ने उद्देश्यले यो वर्षको वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रम साइकडेस्क फाउन्डेसन र महाकाली नगरपालिकाको सहकार्यमा मनोविकास अभियान शुभारम्भ भएको छ ।
महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसरको अध्यक्षता तथा दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला र स्थानीय सरकारका प्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनिय सहभागिता रहेको थियो ।
कार्यक्रममा वल्र्डलिंककी सीएसआर निर्देशक तथा प्रमोटर सेयरहोल्डर, अनुपा भण्डारी जालानले मनोविकास अभियान कुनै एकल कार्यक्रम नभई व्यक्ति, परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारलाई जोड्दै पालिकाको मानसिक स्वास्थ्य नीति निर्माण र प्रणालीलाई सुदृढ गर्ने साझा प्रयास रहेको बताइन् ।
वल्र्डलिंक सीएसआरले विगत पाँच वर्षदेखि विभिन्न जिल्लामा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । साइकडेस्क फाउन्डेसनसँगको तीन वर्षे साझेदारीअन्तर्गत धनगढी, विराटनगर र पोखरामा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम र साइड वाक टक कार्यक्रम ३/३ महिना गरेर ९ महिना सञ्चालन गरेका थियौ। साथै, एक वर्षअघि दार्चुलाको महाकाली, बैतडीको मेलौली र काठमाडौको कागेश्वरी ३ वटा पालिकाहरुमा गरिएको मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनबाट प्राप्त आवश्यकता र सुझावका आधारमा यस वर्षको मनोविकास अभियानको अवधारणा तयार गरिएको हो ।
परियोजनाको कार्यक्षेत्र महाकाली नगरपालिका छनोट हुनुमा स्थानीयस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी दक्ष जनशक्ति तथा सेवाको सीमिततासँगै नगरपालिकाले देखाएको नेतृत्व, इच्छाशक्ति र सहकार्यको प्रतिबद्धता महत्वपूर्ण आधार बनेको भण्डारी जालानले सो कार्यक्रममा व्यक्त गरिन् ।
परियोजनाको दश महिनाको कार्यान्वयन अवधिमा महाकालीका विद्यार्थी र शिक्षक मार्फत सरकारी विद्यालयहरु देखि समुदाय सम्ममा मनोसामाजिक सहयोग प्रणाली सुदृढ गर्ने, महिला स्वयंम सेविका मार्फत वडास्तरमा प्रसूति तथा प्रसूतिपछिको मानसिक स्वास्थ्यमा सहयोग र सचेतना गर्ने, इन्टरनेट जखिम र सुरक्षा बाट हुन सक्ने मानसिक जोखिम लाई घटाउने बारेमा विद्यार्थीहरु लाइ सचेतना कार्यक्रम संचालन गर्ने र पालिकाको मानसिक स्वास्थ्य नीति निर्माण तथा अनुमोदनमा सहजीकरण गर्ने लक्ष्य राखिएको भण्डारी जालानले जानकारी दिइन् । परियोजनाबाट करिब ३ हजार जना प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको पनि उनले बताइन् ।
पालिकाको मानसिक स्वास्थ्य नीतिको पहिलो चरणको छलफल सम्पन्न भइसकेको छ । आजको यो दोस्रो चरणको छलफल पनि सम्पन्न भएको वारेमा वरिष्ट मनोविद तथा साइकडेस्कका सस्थापक डा.नरेन्द्रसिह ठगुन्नाले जानकारी दिए । यसबाट नगरपालिका नागरिकको मानसिक स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने व्यावहारिक र स्थानीय सन्दर्भअनुकूल नीति निर्माणमा योगदान पुग्ने अपेक्षा रहेको ठगुन्नाले प्रष्ट पारे ।
वल्र्डलिंकले यस अभियानका लागि महाकाली नगरपालिकाको सहकार्य र प्राविधिक सहजीकरणका लागि साइकडेस्क फाउन्डेसनप्रति आभार व्यक्त गरेको छ । वल्र्डलिंकको सीएसआर अन्तगतको परियोजना महाकाली नगर पालिकाको समुदायमा आधारित, पहुँचयोग्य र मानसिक स्वास्थ्य नीति निर्माण र प्रणाली विकास गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।