काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल २०२६ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट ‘बैंकलाई होम डेभलपमेन्ट बैंक पार्टनर’ छनोट गरेको छ ।
‘होम डेभलपमेन्ट बैंक पार्टनर’ सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन्।
टिम म्यानेजर आचार्यले शाइन रेसुंगा लुम्बिनी प्रदेशमा स्थापना भई प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक भएकाले साझेदार बनाएको बताए । बैंकसंगको साझेदारीले खेलाडीमा लगानी गर्न सहज भएको र टिमकै हौसला बढेको आचार्यले बताए।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरुले क्रिकेट खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टिमसँग सहकार्य गरेको बताए।
बैंकका चिफ ब्राण्ड अफिसर प्रभास राईले नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको विजेता समेत रहेको टिम लुम्बिनी लायन्ससँग बैंकको साझेदारीले समग्र लुम्बिनी प्रदेशको ब्राण्डिङ र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिएको बताए।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आगामी २६ अक्टुबरदेखि २१ नोभेम्बरसम्म नेपाल प्रिमियर लिग क्रिकेटको तेस्रो संस्करण सुरु हुँदै छ।
एनपीएलको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। शाइन रेसुंगा डेभलपमेन्ट बैंक दोस्रो संस्करणमा पनि लुम्बिनी लायन्सको डेभलपमेन्ट बैंक पार्टनर रहेको थियो। सोही सम्झौतालाई तेस्रो संस्करणमा पनि निरन्तरता दिइएको हो।