सिप्रदी यात्रीद्वारा नेपालमै निर्मित स्कुटर पी२ को मूल्य सार्वजनिक

0 Shares

काठमाडौं । सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर यात्री पी २ को मूल्य सार्वजनिक गरेको छ । योसँगै नेपालमै इन्जिनियरिङ्ग तथा उत्पादन गरिने विद्युतीय मोबिलिटी विकास गर्ने सिप्रदी यात्रीको यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ ।

नेपालका विविध र चुनौतीपूर्ण सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको पी २ केवल शहरी आवतजावतका लागि मात्र डिजाइन गरिएको स्कुटर होइन । उकालो बाटो, घुम्ती सडक, दैनिक शहरको ट्राफिकदेखि लामो दूरीका यात्रासम्मलाई ध्यानमा राख्दै पी २ मा कार्यक्षमता, रेन्ज, सहज चार्जिङ, कनेक्टिभिटी र राइडर केन्द्रित प्रविधिलाई एउटै प्लेटफर्ममा समेटिएको छ ।

पी २ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार ब्याट्री क्षमता, रङ्ग तथा कम्फर्ट र कनेक्टिभिटीका अन्य विकल्पहरू छनोट गरी स्कुटरलाई आफूअनुकूल बनाउन सक्ने छन् ।

नेपालको सडकका लागि इन्जिनियरिङ्ग गरिएको

पी २ को मुख्य विशेषतामध्ये पीएमएसएम मिड–ड्राइभ मोटर एक हो । जसलाई विभिन्न सडक तथा ड्राइभिङ्ग अवस्थामासमेत उत्कृष्ट कार्यक्षमता दिन सक्ने गरी डिजाइन गरिएको छ । यसले पांग्रामा ३१५ एनएम टर्क उत्पादन गर्छ । साथै, एक्टिभ्ली–कुल्ड हाई–पावर कन्ट्रोलरले विशेषगरी उकालो सडकमा समेत निरन्तर र भरपर्दो कार्यक्षमता कायम राख्न सहयोग गर्छ ।

पी २ मा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४–इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ । जसले नेपालका विभिन्न प्रकारका सडकमा स्थिरता र नियन्त्रण कायम राख्न मद्दत गर्छ । डुअल डिस्क ब्रेकसँगै कम्बाइन्ड ब्रेकिङ सिस्टमले ब्रेक लगाउँदा थप आत्मविश्वास प्रदान गर्छ ।

फरक आवश्यकता अनुसार तीन ब्याट्री विकल्प

पी २ मा ग्राहकको दैनिक यात्राको आवश्यकता अनुसार छनोट गर्न मिल्ने तीनवटा ब्याट्री विकल्प उपलब्ध छन्ः

३.० किलोवाट ब्याट्री – सहरभित्र वास्तविक अवस्थामा ९० किलोमिटरसम्मको रेन्ज
३.७ किलोवाट ब्याट्री – सहरभित्र वास्तविक अवस्थामा ११२ किलोमिटरसम्मको रेन्ज
५.२ किलोवाट ब्याट्री – सहरभित्र वास्तविक अवस्थामा १५७ किलोमिटरसम्मको रेन्ज

थप रेन्ज आवश्यक पर्ने राइडरका लागि एक्स्टेन्डर प्याक मार्फत थप ५० किलोमिटरसम्मको रेन्ज प्राप्त गर्न सकिन्छ । पी २ का ब्याट्री सिस्टमहरू विशेष रूपमा यही प्लेटफर्मलाई ध्यानमा राखेर विकास गरिएका हुन् र नेपालको सञ्चालन अवस्थाअनुसार परीक्षणसमेत गरिएको छ ।

पी २ मा उद्योगकै अग्रणीमध्ये एक मानिने ८ वर्ष वा ८० हजार किमीसम्मको ब्याट्री वारेन्टी उपलब्ध छ । जसले दीर्घकालीन प्रयोगमा ग्राहकको विश्वासलाई थप मजबुत बनाउने यात्रीको पी २ उदेश्यलाई प्रतिबिम्बित गर्छ ।

दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको चार्जिङ

पी २ मा इन्स्टल्ड अनबोर्ड चार्जर रहेको छ । जसका कारण घरमा चार्ज गर्दा छुट्टै चार्जिङ एडाप्टर बोकिरहनु पर्दैन । ब्याट्रीको कन्फिगरेसन अनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिन्छ ।

लामो यात्रा वा छिटो चार्ज गर्नुपर्ने अवस्थामा पी २ ले डीसी फास्ट चार्जिङ पनि सपोर्ट गर्छ । तोकिएका चार्जिङ अवस्थाअनुसार करिब ४१ मिनेटमा चार्ज गर्न सकिन्छ । शहरबाहिर यात्रा गर्ने पी २ प्रयोगकर्तालाई समेत सहज बनाउन सिप्रदी यात्रीले देशभर आफ्नो चार्जिङ्ग नेटवर्क विस्तार गर्दैछ ।

राइडर र कनेक्टेड राईडिङ प्रविधी

पी २ ले प्रविधिमा केन्द्रित राइडिङ्ग अनुभव प्रदान गर्ने पी २ उदेश्यले ७–इन्च टीएफटी डिस्प्ले उपलब्ध गराएको छ । जसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोएयट अटोको सुविधा पनि समावेश छ । डिस्प्लेबाट नेभिगेसन तथा आवश्यक राइडिङ्ग सम्बन्धी जानकारी हेर्न सकिन्छ । साथै, इन्टिग्रेटेड सेन्सरहरूले कम्पासको दिशा, रोल र पिचलगायतका जानकारी रियल–टाइममा उपलब्ध गराउँछन् ।

पी २ को कनेक्टेड आर्किटेक्चरमार्फत स्कुटरमा फोर जी कनेक्टिभिटी प्रयोग गरी यात्रीको नेटवर्कसँग जोडिइरहन्छ । यसको मोबाइल एपमार्फत ग्राहकले लाइभ भेहिकल ट्र्याकिङ्ग, रियल–टाइम चार्जिङ जानकारी, रुट प्लानिङ्ग र सर्भिस अपोइन्टमेन्ट जस्ता सुविधा प्रयोग गर्न सक्छन् । स्कुटरमा प्रोक्सिमिटी डिटेक्सन प्रविधि पनि रहेको छ, जसले चाबीबिना स्कुटर चलाउने सुविधा प्रदान गर्छ ।

सहज र आरामदायी राइडिङ्गका लागि डिजाइन

पी २ मा विभिन्न सडक तथा राइडिङ्ग अवस्थाअनुसार स्कुटरको अनुभव आफूअनुकूल बनाउन मल्टिपल राइडिङ्ग मोड, स्मार्ट चार्जिङ्ग मोड र मल्टिपल–लेभल रिजेनेरेटिभ ब्रेकिङ उपलब्ध छन् ।

बारम्बार रोकिनुपर्ने शहरको ट्राफिक तथा लामो यात्राका क्रममा यसमा रहेको हिल होल्ड र क्रुज कन्ट्रोल जस्ता सुविधाले दैनिक यात्रा अझ सहज बनाउन सहयोग गर्छन् । रिजेनेरेटिभ ब्रेकिङले गति घटाउँदा स्कुटरको केही ऊर्जालाई पुनः विद्युतीय ऊर्जामा रूपान्तरण गरी ब्याट्रीमा भण्डारण गर्न सहयोग गर्छ ।

सुरक्षालाई प्लेटफर्ममै प्राथमिकता

पी २ मा वर्ग डी हेडलाम्प जस्ता सुविधाहरू छन्, जसले अझ प्रभावकारी प्रकाश प्रदान गर्न डिजाइन गरिएको छ । त्यस्तै, रिजेन–रिस्पोन्सिभ टेललाइटले स्कुटरको गति घट्दा पछाडिबाट आइरहेका सवारीलाई त्यसको संकेत दिन्छ ।

कनेक्टेड प्लेटफर्ममार्फत एन्टी–थेफ्ट नोटिफिकेसन र मोटर लक जस्ता सुविधा पनि उपलब्ध छन् । जसले स्कुटर पार्क गरेर राखिएको अवस्थामा थप सुरक्षा प्रदान गर्छ ।

पी २ मा आफ्नै शैली

पी २ लाई ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार आफूअनुकूल बनाउन सक्ने गरी डिजाइन गरिएको छ । अनलाइन कन्फिगुरेटर मार्फत ग्राहकले स्कुटरको रङ्ग, ब्याट्री क्षमता, कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्छन् । कन्फिगुरेटरमार्फत ग्राहकले आफूलाई मनपर्ने पी २ को कन्फिगरेसन तयार गरी अर्डर गर्नुअघि नै त्यसको अनुभव र विकल्पहरू हेर्न सक्छन् ।

एक्सपेरियन्स सेन्टर र डेलिभरी

काठमाडौंको टेकुमा रहेका सिप्रदीे यात्रीको नयाँ अनुभव सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा आउने तयारीमा छ । यहाँ ग्राहकले पी २ लाई प्रत्यक्ष अनुभव गर्न, टेस्ट राइड लिन तथा बुकिङ गर्न सक्ने छन् ।

नाडा अटो शोका क्रममा पी २ बुकिङ गरेका ग्राहकलाई डेलिभरी सुरु भएसँगै स्कुटर उपलब्ध गराइनेछ । ३.७ किलोवाट र ५.२ किलोवाट भेरियन्टको डेलिभरी अक्टोबरको मध्यदेखि नोभेम्बरसम्म सुरु हुने तय गरिएको छ भने अरु सबै भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु हुने तालिका रहेको छ ।

यहीँ जन्मिएको, विश्वका लागि तयार

पी २, सिप्रदी यात्री कम्पनीको दुई वर्षभन्दा लामो विकास यात्राको परिणाम हो । यसमा भेहिकल इन्जिनियरिङ्ग, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक्स, सफ्टवेयर र कनेक्टेड मोबिलिटीलाई एउटै प्लेटफर्ममा एकीकृत गरिएको छ ।

पी २ मार्फत नेपालमै विकास गरिएको विद्युतीय मोबिलिटीलाई स्थानीय सडक तथा परिस्थितिअनुकूल इन्जिनियरिङ्ग गर्न सकिन्छ भन्ने देखाउँदै, विश्व बजारका लागि आवश्यक प्रविधि र कार्यक्षमतासमेत समेट्न सकिने सिप्रदी यात्रीको पी २ उद्देश्य छ ।

सम्बन्धित समाचार