काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडले आज (असोज १ गते) देखि ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ को इकाई निष्कासन तथा बिक्री खुला गरेको छ। क्यापिटलले १० वर्ष अवधिको बन्दमुखी योजनाका रूपमा सञ्चालन हुने उक्त म्युचुअल फण्डको इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गर्न लागेको हो। कुल निष्कासनमध्ये बिक्री भएको इकाई संख्याको १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई योजना प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि र २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ।
त्यसपछि बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको क्यापिटलले जनाएको छ।
यस योजनाको इकाई खरिद गर्न लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ। अधिकतम भने १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। न्यूनतम आवेदनका लागि लगानीकर्ताले १ हजार रुपैयाँ लगानी गर्नुपर्नेछ।
मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने उक्त योजनाको इकाई खरिदका लागि असोज ६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा मागअनुसार पर्याप्त आवेदन नपरेमा निष्कासनको अवधि असोज १५ गतेसम्म थप गर्न सकिने व्यवस्था छ।
निष्कासन अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरिदका लागि आवेदन प्राप्त भएमा योजनाको इकाई बाँडफाँट गर्न सकिनेछ। तोकिएको न्यूनतम संख्यामा इकाई बिक्री नभएमा भने योजना खारेज गरी आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिनेछ। त्यस्तो अवस्थामा आवेदनकर्ताको रकम १५ दिनभित्र फिर्ता गर्ने व्यवस्था रहेको छ।
मुक्तिनाथ म्युचुअल फण्ड २ को धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक पनि मुक्तिनाथ क्यापिटल लिमिटेड नै रहेको छ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्थामार्फत उक्त फण्डको इकाईमा आवेदन दिन सक्नेछन्। त्यसैगरी मेरोसेयरको वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।
‘मुक्तिनाथ म्युचुअल फण्ड २’ बन्दमुखी योजना भएकाले यसको अवधि १० वर्ष तोकिएको छ। बन्दमुखी म्युचुअल फण्डमा निश्चित अवधिका लागि लगानीकर्ताबाट रकम संकलन गरी योजना व्यवस्थापकले उक्त रकम विभिन्न धितोपत्र तथा लगानीका क्षेत्रमा परिचालन गर्ने व्यवस्था हुन्छ।