काठमाडौँ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने २१.१९ अंकले घटेर २६१२.४२ विन्दुमा झरेको छ। बजार बढेको मौकामा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा नेप्सेमा करेक्सन आएको देखिएको छ।
पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक १०२.०६ अंकले बढेको थियो । बुधबार सेन्सेटिभ इन्डेक्स ३.७७ अंक, फ्लोट इन्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३२ अंकले घटेका छन् ।
सोमबार साँझ अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेसहित बजार सुधारको कार्यायोजना सार्वजनिक गरेका थिए ।
कारोबार रकम पनि घट्यो
नेप्सेसँगै बुधबार कारोबार रकममा समेत कमी आएको छ। मंगलबार **८ अर्ब २९ करोड रुपैयाँ**को कारोबार भएकोमा बुधबार ३५० स्टकको ५५ हजार ८३१ पटकको कारोबारमा ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख १ हजार कित्ता शेयर किनबेच भएको छ।
नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक बढ्यो
बुधबार नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशतले बढेको छ । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५.३१ प्रतिशतले बढेको छ । माउन्ट एभरेस्ट पावरको ४.३८, कालिका लघुवित्तको ४.३४, बोटलर्स नेपाल बालाजुको ३.५९ प्रतिशत मूल्य बढ्यो ।
आज ४२ कम्पनीको मूल्य बढ्दा २२५ को घटेको छ भने १२ को स्थिर रह्यो ।
यस दिन एनएमबी हाइब्रिड फन्ड एल–२को इकाईमूल्य सर्वाधिक ७.७३ प्रतिशतले घटेको छ भने रिज लाइन इनर्जीको शेयरमूल्य ५.२१ प्रतिशत घटेको छ। नेपाल वेयर हाउजिङको ४.९६, स्वाभिमान लघुवित्तको ४.५८, सिन्धु विकास बैंकको ४.४४ प्रतिशत मूल्य घट्यो ।
कारोबारमा हिमाल दोलखा हाइड्रोपावर अगाडि
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २५ करोड रुपैयाँभन्दा बढी र शिवम् सिमेन्ट्सको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, लिबर्टी इनर्जी तथा एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि रहे ।
सबै उपसमूह राताम्मे
बुधबार नेप्सेका १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक १.०१ प्रतिशत र निर्जीवन बीमा उपसमूहको परिसूचक ०.९१ प्रतिशतले घटेको छ ।
यसैगरी बैंकिङ ०.६३, विकास बैंक ०.७३, फाइनान्स ०.७६, होटल तथा पर्यटन ०.८५, लगानी ०८१, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.८२, अन्य ०.८७ र व्यापार ०.७० प्रतिशत घटे ।