काठमाडौं । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेँसी पुग्ने वैकल्पिक मार्गका रुपमा प्रयोगमा ल्याइएको परेवाटार-मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ।
सडक साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो ।
प्रशासनका अनुसार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म गल्छी-मास्टारबाट परेवाटार हुँदै धादिङबेँसीतर्फ आउने सवारीसाधन सञ्चालन हुने छन् । धादिङबेँसीतर्फ आउने सवारीसाधनले दिउँसो १२ बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्ने छ ।
यसैगरी, दिउँसो १ देखि साँझ ७ बजेसम्म धादिङबेँसीबाट परेवाटार हुँदै मास्टार-गल्छीतर्फ जाने सवारीसाधन सञ्चालन हुनेछन् । गल्छीतर्फ जाने सवारीले साँझ ७ बजेभित्र परेवाटार पार गरिसक्नुपर्ने छ ।
तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङबेँसीबाट सुनौलाबजार, फोस्रेटार र केउरिनी हुँदै गल्छीतर्फ आवतजावत गर्न सकिने छ ।