काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि विस्तार गरेको छ। शनिबारदेखि लागू हुने यो सेवाअन्तर्गत प्रभावित क्षेत्रमा ग्राहकले थप एक सातासम्म निःशुल्क सञ्चार सुविधा पाउनेछन्।
यसअघि एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, अल-नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराएको थियो। उक्त अवधि शुक्रबार सकिँदैछ।
प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतमा खटिएका टोलीलाई समन्वय गर्न सहज होस् भन्ने उद्देश्यले सेवा अवधि थप गरिएको एनसेलले जनाएको छ।
बाढीका कारण अवरुद्ध भएका एनसेलका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याइएको छ भने थप ९ वटा टावर सञ्चालनका लागि काम भइरहेको कम्पनीले जनाएको छ।
यसैगरी, खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गरेको छ।
कम्पनीले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित रहन र सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।