प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफको ५१ लाख सहयोग

0 Shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीको २०८३ भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले सर्कुलरमार्फत उक्त सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ । भीषण बाढी र डुबानका कारण दर्जनौँ नागरिकले अकालमै ज्यान गुमाउनुपरेको, कैयौँ बेपत्ता भएको तथा बस्ती र पूर्वाधारमा क्षति पुग्दा सयौँ परिवार विस्थापित भएको भन्दै कम्पनीले प्रभावित नागरिकप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

विपद्बाट प्रभावित नागरिकको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थाबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

कम्पनीले स्थापनाकालदेखि नै राष्ट्रमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीको समयमा सहयोग गर्दै आएको जनाएको छ । ‘ढुकढुक हैन, ढुक्क होऔँ’ भन्ने मूल भावनाअनुरूप हालको विषम परिस्थितिमा प्रदान गरिने आर्थिक सहयोगले बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न वितरण, स्वास्थ्य उपचार र पुनःस्थापनाका कार्यमा थप टेवा पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बेपत्ताको शीघ्र खोजी र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति उच्च सम्मान एवं आभार व्यक्त गरेको छ ।

सम्बन्धित समाचार