काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानका तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आज (बिहीबार) अख्तियारले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
अख्तियारले खतिवडा, तत्कालीन सिंगिया गाविसका अध्यक्ष/सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुशील वैद्य (अवकाश प्राप्त), तत्कालीन शाखा अधिकृत तुङ्गनाथ भण्डारी (अवकाश प्राप्त), तत्कालीन नायव सुब्बा केदारबहादुर कार्की (अवकाश प्राप्त), तत्कालीन धरान नगरपालिका वडा नं. १४ का तत्कालीन वडा सचिव उत्तम आले, नरसिंह भगवानको मन्दिरमा पुजारी रहेका टिर्रु चौधरी, स्थानीय जग्गा कारोबार गर्ने व्यक्ति पंकज घिमिरे, भागमैन थरुनीविरुद्ध मुद्दा दायर गरेको छ।
नरसिंह भगवान मन्दिरको नाममा रहेको सुनसरी साविक भादगाउँ सिनवारी गाविस–४ स्थित ५ कठ्ठा ७ धुर र ४ कठ्ठा १८ धुरका दुई वटा सार्वजनिक जग्गालाई गलत प्रतिवेदन दिई पुजारी चौधरीको नाममा ल्याइएर बिक्री गरिएको अख्तियारको भनाइ छ।
‘सार्वजनिक जग्गा गैरकानुनीरूपमा नक्कली जग्गा धनी खडा गरी गराई नक्कली जग्गा धनी टिर्रु चौधरीको नाममा दर्ता कायम गरी उक्त जग्गासमेत बिक्री गरी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको देखिँदा’ उनीहरूविरुद्ध मुद्दा दायर अख्तियारको भनाइ छ।
भागमैन थरुनीको हकमा उनको नाममा जग्गा दर्ता भएर हाल भोगचलन गर्दै आएकाले सो जफत गरी पुन: मन्दिरको नाममा ल्याउन अख्तियारले मागदाबी गरेको छ।
प्रतिवादीहरूको आपसी मिलेमतो र योजनामा साविक सिंगिया गाविसबाट २०६४ जेठ ८ गते र साविक धरान नगरपालिका-१४ नम्बर वडा कार्यालयबाट २०६४ माघ ९ गते झुटा बेहोरा भएको सर्जमिन मुचुल्का बनाई/बनाउन लगाई सिंगिया गाविसले उक्त बेहोरासँग मिल्ने गरी नाता प्रमाणित प्रमाणपत्रसमेत बनाई दिई धरान नगरपालिकाले मालपोत कार्यालय, सुनसरीलाई उक्त जग्गाहरू नरसिंह भगवानको मन्दिरमा पुजारी रहेका टिर्रु चौधरीको नाममा नामसारी गरिदिन सिफारिससमेत गरेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।
त्यस्तै मालपोत कार्यालय सुनसरीले २०६५ जेठ २१ गते नामसारी गर्न निर्णय गरेको अख्तियारको भनाइ छ।