काठमाडौँ । जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
बुधवार साँझ करिब ६:५० बजेको समयमा मानेश्वराबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड टिपर अनियन्त्रित भई दुर्घटना भएको थियो । काभ्रेको पाँचखाल नगरपालिका–१३ बस्ने २५ वर्षीय अनिस पाण्डेले चलाएको उक्त टिपर दुर्घटना हुँदा टिपरमा सवार जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–८ निवासी २९ वर्षीय राजु लामा सडक छेउतर्फ हाम फालेका थिए । त्यसपछि सोही स्थानमा टिपर पल्टिँदा उनी टिपरले च्यापिएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले राजु लामाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पठाएको थियो । तर उपचारकै क्रममा साँझ ७:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टम पश्चात् मृतकका बुवा हिरा बहादुर तामाङलाई जिम्मा लगाएको छ भने दुर्घटनामा संलग्न टिपर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।