काठमाडौं । सन् २०२२ देखि रोहितकुमार पौडेलले नेपाली क्रिकेट टोलीको नेतृत्व लिएका थिए । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लागेपछि रोहितले नेपाली टिमको कप्तानी नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।
आइसिसी विश्वकप लिग २ मा संघर्ष गरिरहेका बेला रोहितले टोलीको नेतृत्व गर्ने मौका पाए । उनी कप्तानमा नियुक्त भएसँगै नेपालको प्रदर्शनमा सुधार भयो ।
रोहितको कप्तानीमा त्यस संस्करणको विश्वकप लिग २ मा नेपालले चामत्कारिक पुनरागमन गर्दै ३६ खेलमध्ये १९ मा जित र १५ खेलमा पराजय बेहोरेको थियो । यस्तै, नेपालले दुई खेलमा अंक बाँडेको थियो ।
पहिलो संस्करणको लिग २ मा नेपालले तेस्रो स्थान हासिल गर्न कप्तान पौडेलको भूमिका अहम् रहेको थियो । उनले त्यस संस्करणमा ३३ खेलमा ९०९ रन बनाए ।

विश्वकप लिग २ को शीर्ष तीनमा स्थान बनाएसँगै नेपालले रोहितको कप्तानीमा पहिलोपटक आइसिसी एक दिवसीय विश्वकप खेल्ने मौका पायो । जहाँ नेपालले पहिलोपटक नै टेष्ट मान्यता प्राप्त देश वेस्ट इण्डिज र जिम्बाब्वेविरुद्ध खेल्यो ।
रोहितको कप्तानीमा नेपालले पहिलोपटक सन् २०२३ मा एसीसी प्रिमियर कपको उपाधि जित्यो । त्यस प्रतियोगिताको विजेता बनेसँगै नेपालले पहिलोपटक एसीसी एसिया कप खेल्ने मौका पायो । एक दिवसीय ढाँचाको उक्त एसिया कपमा नेपालले भारत र पाकिस्तानजस्ता शक्तिशाली क्रिकेट टोलीको सामना गर्यो ।
उनको कप्तानीमा नेपालले एक दिवसीयभन्दा टी २० आईमा झन उत्कृष्ट प्रदर्शन गर्यो । उनको नेतृत्वमा नेपालले लगातार दुई पटक आइसिसी टी २० विश्वकप खेल्यो । रोहितको कप्तानीमा नेपालले पहिलोपटक आइसिसी टी २० विश्वकप एसिया तथा इएपिए छनोटको उपाधि जितेको थियो ।
उनकै कप्तानीमा नेपालले पहिलोपटक टेष्ट टिम वेस्ट इण्डिजविरुद्धको टी २० आई शृङ्खला जित्यो । गत वर्षको सेप्टेम्बरमा आयोजित तीन खेलको उक्त शृङ्खला २-१ ले जितेको थियो ।

नेपालको एक दिवसीय क्रिकेट टोलीको नेतृत्व सम्हाल्ने बेला रोहितकुमार पौडेल २० वर्ष ७३ दिनका थिए । उनी अहिले पनि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कान्छो कप्तानको रूपमा दोस्रो स्थानमा छन् ।
रोहितभन्दा अगाडि अफगानिस्तानका राशिद खानको नाम मात्र छ । राशिदले १९ वर्ष १६५ दिनको उमेरमा एक दिवसीय टोलीको कप्तानी सम्हालेका थिए ।
रोहितको कप्तानीमा नेपालको नतिजा
रोहितको कप्तानीमा नेपालले सर्वाधिक ६३ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्यो । जसमा नेपालले ३१ खेलमा जित र ३० खेलमा हारको सामना गर्यो । यस्तै, नेपालले दुई एक दिवसीय खेल ड्र खेल्यो।

उनले ५९ टी २० आई खेलमा टोलीको नेतृत्व गरे । जसमा नेपालले ३३ खेलमा जित र २१ खेलमा हार व्यहोर्नु पर्यो । यस्तै, नेपालले तीनवटा टी २० आई खेलमा अंक बाँडेको थियो ।
उनी नेपालका लागि सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडीसमेत बने । उनको कप्तानीमा नेपालले दुवै ढाँचागरी १२२ खेल खेल्यो । रोहित नेतृत्वबाट हटेसँगै क्यानले टी २० आईमा दीपेन्द्र सिंह ऐरी र एक दिवसीय टोलीको कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ ।
सन्दीप चार वर्षपछि कप्तानमा फर्किएका हुन् । उनले सन् २०२२ मा नेपालको कप्तानी गरेका थिए । सन्दीपको कप्तानीमा हालसम्म नेपालले १४ एक दिवसीय र १८ टी २० आई खेल खेलेको छ ।