काठमाडौँ । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वित्तीय अवस्था थप सबल बनाउँदै सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने क्षमता उल्लेख्य रूपमा बढाएको छ ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार लाभांश क्षमता १४.२५ प्रतिशतबाट बढेर १९.१० प्रतिशत पुगेको छ। त्यस्तै, वितरणयोग्य मुनाफा ३४.०७ प्रतिशतले वृद्धि भई ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ३ अर्ब ८५ करोड रुपैयाँ थियो ।
ब्याज आम्दानीमा वृद्धि र इम्पेयरमेन्ट चार्जमा कमी आएपछि बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकले ७ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५ अर्ब ९२ करोड रुपैयाँको तुलनामा ३३.४९ प्रतिशतले बढी हो ।
खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड रुपैयाँबाट बढेर १७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ४२ करोड रुपैयाँबाट बढेर ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा पनि ९ अर्ब २३ करोड रुपैयाँबाट बढेर ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
बैंकको सञ्चित मुनाफा (रिटेन्ड अर्निङ) ३ अर्ब ८५ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष (रिजर्भ) ३१ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ३४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा इम्पेयरमेन्ट चार्ज ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ। खराब कर्जा (एनपीएल) अनुपात पनि ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ ।
चौथो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २८.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४७.२८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २,७१५.५० रुपैयाँ तथा तरलता अनुपात २८.८७ प्रतिशत कायम रहेको छ ।