राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यम बनाउनुहुँदैन : सभापति थापा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रूपमा नभई जनसेवा र मानव सेवाको सबैभन्दा ठूलो माध्यमका रूपमा लिनुपर्ने बताएका छन् ।

शनिबार पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्‌घाटन गर्दै सभापति थापाले सार्वजनिक सेवाप्रति समर्पित राजनीति नै समाज रूपान्तरणको आधार हुने धारणा राखे।

उनले विपद् व्यवस्थापनमा सीप, तयारी र व्यवस्थित संयन्त्रको आवश्यकता औंल्याउँदै विपद्को समयमा केवल भावना, इच्छा वा स्वतःस्फूर्त रूपमा गरिने प्रयास मात्र पर्याप्त नहुने बताए। प्रभावकारी उद्धार तथा राहतका लागि प्रशिक्षित जनशक्ति र पूर्वतयारी अनिवार्य रहेको उनको भनाइ थियो।

सभापति थापाले देशका सबै ७५३ स्थानीय तहमा स्वयंसेवक संयन्त्र स्थापना गर्ने योजना रहेको जानकारी दिँदै उक्त संयन्त्र घटना भएपछि मात्र सक्रिय हुने नभई वर्षभरि नै विपद् जोखिम न्यूनीकरण, जनचेतना अभिवृद्धि र पूर्वतयारीका कार्यक्रम सञ्चालनमा केन्द्रित हुने बताए।

सभापति थापाले विपद् व्यवस्थापनमा राजनीतिक दल, स्वयंसेवक र समुदायबीचको समन्वयलाई सुदृढ बनाउँदै जनताको सुरक्षालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार