कामना सेवा विकास बैंकको ​​​​​​​लाभांश क्षमता १५.१६%, नाफा साढे ३३ प्रतिशतले बढ्यो

0 Shares

काठमाडौँ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको नाफा ३३.५० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ थियो । बैंकले समीक्षा अवधिमा कुल ५ अर्ब १९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने ब्याज खर्च घटेर २ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ । ब्याजदर अन्तर (स्प्रेड रेट) ४.२७ प्रतिशतबाट ३.९८ प्रतिशतमा झरे पनि ब्याज खर्च घटेकाले खुद ब्याज आम्दानीमा सुधार देखिएको हो ।

फि तथा कमिसन आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष ३१ करोड २ लाख रुपैयाँ रहेको खुद फि तथा कमिसन आम्दानी गत वर्ष बढेर ३४ करोड ८४ लाख रुपैयाँ पुगेको छ। सम्भावित कर्जा नोक्सानीका लागि बैंकले यस वर्ष १३ करोड ६५ लाख रुपैयाँ मात्रै प्रोभिजन गरेको छ, जबकि अघिल्लो वर्ष यही शीर्षकमा ४१ करोड ८१ लाख रुपैयाँ छुट्याएको थियो। प्रोभिजन खर्चमा आएको उल्लेख्य कमीले पनि बैंकको नाफा बढाउन महत्वपूर्ण योगदान दिएको देखिन्छ।

सञ्चालन नाफा पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४ करोड ४ लाख रुपैयाँ रहेको सञ्चालन नाफा बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ। यो ३२.८७ प्रतिशतको वृद्धि हो ।

गत आर्थिक वर्षमा बैंकले ५६ करोड ७९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। अघिल्ला वर्षको सञ्चित वितरणयोग्य नाफासमेत जोड्दा बैंकको कुल वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको लाभांश क्षमता १५.१६ प्रतिशत पुगेको देखिएको छ ।

बैंकको चुक्ता पुँजी बोनस सेयर तथा अग्राधिकार सेयर निष्कासनपछि ३ अर्ब ५१ करोड रुपैयाँबाट बढेर ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ पुगेको छ। जगेडा कोष पनि १ अर्ब ८३ करोड ९० लाख रुपैयाँबाट बढेर २ अर्ब १४ करोड १३ लाख रुपैयाँ पुगेको छ। पूँजी कोष अनुपात १२.५८ प्रतिशतबाट बढेर १४.१६ प्रतिशत पुगेको छ भने प्राथमिक पूँजी अनुपात ९.१९ प्रतिशतबाट ११.६६ प्रतिशतमा सुधार भएको छ। यसले बैंकको पूँजी आधार थप सुदृढ भएको संकेत गर्छ ।

निक्षेप तथा कर्जा विस्तारमा पनि बैंकले सुधार गरेको छ। समीक्षा अवधिमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्ष ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ थियो। कर्जा लगानी पनि ५० अर्ब ७ करोड ७४ लाख रुपैयाँबाट बढेर ५४ अर्ब २१ करोड १ लाख रुपैयाँ पुगेको छ। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.३४ प्रतिशत रहेको छ।

कोषको लागत ५.०९ प्रतिशतबाट घटेर ३.६९ प्रतिशतमा झरेको छ भने आधार दर ७.०७ प्रतिशतबाट घटेर ५.५३ प्रतिशतमा कायम भएको छ। कोषको लागत घट्नु र आधार दर कम हुनु आगामी दिनमा कर्जा विस्तारका लागि बैंकलाई थप सहज हुने संकेत मानिएको छ । बैंकको कुल खराब कर्जा (एनपीएल) सामान्य रूपमा बढेको छ। अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेको कुल खराब कर्जा बढेर ३.७७ प्रतिशत पुगेको छ। यद्यपि पर्याप्त प्रोभिजनका कारण खुद खराब कर्जा ०.२८ प्रतिशतबाट बढेर ०.५५ प्रतिशतमै सीमित रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको १९.०८ रुपैयाँबाट बढेर २०.७५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १७१.०१ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २०.८४ गुणा कायम भएको छ ।

बैंकिङ क्षेत्रमा बढ्दो निष्क्रिय कर्जा, सुस्त कर्जा माग, सञ्चालन खर्चमा वृद्धि र आर्थिक गतिविधिमा सुस्तताका बाबजुद कामना सेवा विकास बैंकले नाफा, सञ्चालन आम्दानी, पूँजी आधार र लाभांश क्षमतामा उल्लेख्य सुधार गरेको वित्तीय विवरणले देखाएको छ ।

पर्याप्त पूँजी, घट्दो कोष लागत, बलियो पूँजी पर्याप्तता अनुपात र सुधारिएको लाभांश क्षमताले चालु आर्थिक वर्षमा बैंकको व्यवसाय विस्तार तथा वित्तीय प्रदर्शन अझ सुदृढ हुने आधार तयार भएको देखिन्छ।

सम्बन्धित समाचार