काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने भएको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले निर्णय गरेसँगै सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बताएकी हुन् ।
विगतमा पनि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने गरेका थिए । तर, यो शुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले खारेज गरेसँगै नयाँ सांसदहरूले स्वकीय सचिव पाएका थिएनन् ।
त्यसबेला सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूचीमा हेरफेर गरेर संसद्का स्वकीय सचिवको सुविधा कटौती गरेको थियो ।
अघिल्लो वर्ष असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । जसमा नेपाल सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहमा लागु हुने भनिएको छ ।
यसैका आधारमा सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको पद खारेज भएको थियो । गत २१ फागुनमा निर्वाचित भएर आएको प्रतिनिधिसभा सदस्यहरूले पनि यो विषय निरन्तर उठाउँदै आएका थिए ।
यस पृष्ठभूमिमा सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय गरेको हो । अहिले संघीय संसद्अन्तर्गत प्रतिनिध सभा २७५ सदस्यीय र राष्ट्रिय सभा ५९ सदस्यीय छ ।