काठमाडौं । भक्तपुर दरवार क्षेत्र प्रवेशद्वार नजिकैको दही पसलमा जुजु धौ बनाउन व्यस्त थिए, विनय श्रेष्ठ । उनी दूधलाई ठूलो डेक्चीमा राखेर दाउराको आगोमा तताउँदै थिए । जुजु धौ बनाउने परम्परागत प्रक्रियाअन्तर्गतको यो पहिलो प्रक्रिया हो ।
‘दही बनाउन कम्तीमा पाँच प्रतिशत फ्याट भएको दूध चाहिन्छ । र, उक्त दूधलाई बाक्लो हुनेगरी चलाउँदै उमाल्नुुपर्छ’, उनले दूधलाई चलाउनुको कारण प्रष्ट्याए । विनय दूध उमाल्न व्यस्त भइरहँदा उनकी आमा यमुना भने भुस सम्याएर त्यसमाथि माटोको कटारो मिलाउँदै थिइन् । दही बनाउन उमालिएको दूधलाई सोही माटोको कटारोमा राखेर जमाउने गरिएको छ ।
त्यसपछि यमुनाले उम्लिएको दूधमा चिनी, मसला राखिन् । र, केही समय दूध उमालियो । त्यसपछि आमा–छोराले उम्लिएको दूध सोही माटोको कटारोमा राखे । र, उक्त दूध सेलाएपछि फेरि उक्त भाडोमा थोरै दूध राखे । दूध सेलाउन राखियो । त्यसपछि दूधमा जोरन (दही) मिसाए ।
त्यसपछि उक्त कटारोलाई कटारोले नै छोपे । र, कटारोलाई बोरा, सिरकलगायतले छोपेर राखे । कटारोलाई छोपेर राखेको कम्तीमा चार घण्टामा जुजु धौ तयार हुन्छ । यो जुजु धौ बनाउने परम्परागत प्रक्रिया हो ।
तर, पछिल्लो समय परम्परागत तरिकाबाट जुजु धौ बनाउने चलन घट्दै गएको छ । पछिल्लो समय दुई–तीन ठाउँमा मात्रै परम्परागत तरिकाले जुजु धौ बनाउने गरिएको विनय बताउँछन् । ‘अधिकांशले परम्परागत तरिकाले जुजु धौ बनाउन छाडिसके,’ उनी भन्छन् ।
उनका अनुसार पछिल्लो समय ग्यासमा दूध उमाल्ने गरिएको छ । यस्तै, दूध जमाउन फ्रिजमा राख्ने गरिएको छ । यही कारण जुजु धौको स्वादसमेत फेरिएको उनको भनाइ छ । ‘दाउरामा तताएको दूधको दही स्वादिलो हुन्छ । तर, दाउरा अभावले अधिकांश ग्यासमै दूध तताउन बाध्य छन्,’ उनले कारण खुलाए ।
पछिल्लो समय अधिकांशले माटोको सानो भाँडो (सलीं) मा दही जमाउने गरेको उनी बताउँछन् । अहिले बजारमा कप जुजु धौको माग बढी भएकाले जुजु धौ बनाउने व्यावसायीले यसो गरेको उनको भनाइ छ ।
तर, आफूहरूले परम्परागत तरिकाले जुजु धौ बनाउने भएकाले पसल प्रख्यात रहेको उनको दाबी छ । उनका हजुरबुवा विश्वनाथले त्यतिबेला बनाएको दहीसँगै गुँदपाक र पुष्टकारीको चर्चा भक्तपुरका गल्ली गल्लीमा रहेको उनी बताउँछन् ।
भक्तपुरमा जुजु धौ बनाउनका लागि नगरकोट, पनौती, सुडाल, ताथली, बागीश्वरी, काभ्रे, झौखेललगायत ठाउँबाट दूध ल्याउने गरिएको छ ।
जुजु धौलाई नेपालीमा ‘दहीको राजा’ भन्ने गरिन्छ । विनयका अनुसार माटोको कटारोमा राखिएको जुजु धौ घोप्ट्याए पनि पोखिँदैन । यसलाई चक्कुले टुक्राटुक्रा पारेर काट्न मिल्छ ।
असार १५ मा पनि यसको प्रयोग बढ्ने गरेको छ । उक्त दिन घरघरमा दही–चिउरा खाने परम्परा छ । नेवारी परम्पराअनुसार जन्मोत्सव, भोज, शुभकर्मलगायत अवसरमा दहीको प्रयोग बढ्दै गएको छ ।
जुजु धौ नेपालमा मात्र होइन, विदेशमा समेत परिचित रहेको स्थानीयको दाबी छ । त्यसैले भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटक दहीको स्वाद चाखेरै मात्र जाने गरेको उनीहरू बताउँछन् ।