राप्रपा महाधिवेशनमा राजेन्द्र विरुद्ध ज्ञानेन्द्रले उम्मेदवारी दिने तयारी

0 Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । राप्रपाभित्र पनि नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने भन्दै उनले अध्यक्षमै लड्ने तय गरेका हुन् ।

राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुँदै छ । उक्त महाधिवेशनबाट अध्यक्ष राजेन्द्र लिङदेन फेरि दोहोरिने योजनामा छन् । यद्यपि उनले आधिकारिकरुपमा उम्मेदवारी घोषणा गर्न बाँकी छ ।

राप्रपाभित्र ‘प्रतिपक्षी’ भूमिका खेलिरहेका महामन्त्री डा. धवलशम्शेर राणाले हालै पार्टी परित्याग गरे । धवलको बहिर्गमनपछि राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङदेन चुनौतिविहिन बन्ने अनुमान थियो । तर उनका लागि अर्को तगारोका रुपमा ज्ञानेन्द्र शाही उभिने भएका हुन् ।

गत संसदीय निर्वाचनमा जुम्लाबाट जितेर शाहीले राप्रपाको बिउ जोगाइदिएका थिए । उनले पनि चुनाव हारेका भए राप्रपाले समानुपातिकको सिट पनि गुमाउने थियो र संसदमा शून्य उपस्थिति रहने थियो । शाहीले जितेपछि राप्रपाले समानुपातिकमा ३ सांसद थप्न सफल भयो । शाही अहिले राप्रपाको संसदीय दलका नेता छन् ।

सङ्ख्यामा थोरै भए पनि राप्रपाले संसदभित्र प्रभावकारी उपस्थिति जनाइरहेको छ । पार्टी संसदीय दलका नेता शाही र प्रमुख सचेतक खुस्बु वलीले संसदभित्र राप्रपाको साख बढाएका छन् । शाहीले अघिल्लो कार्यकालमा पनि पार्टीको प्रमुख सचेतकका रुपमा संसदमा जबरजस्त भूमिका खेलेका थिए ।

 

सम्बन्धित समाचार