वामपन्थी एक हुन ढिला गर्नुहुन्न, नत्र भयानक दुर्घटना हुनसक्छ : प्रचण्ड

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनलाई सिध्याउने ठूलो षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।उनले वामपन्थी शक्तिहरुबीच तत्काल सहकार्य र एकता हुनुपर्नेमा जोड दिएका छन्।

आइतबार नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विदेशी दबाब, फासीवाद र हस्तक्षेपविरुद्ध लड्न कम्युनिस्टहरु एक ढिक्का हुनुको विकल्प नभएको बताएका हुन्। उनले राष्ट्रिय स्वाधीनता निकै ठूलो संकटमा परेको भन्दै कम्युनिस्ट शक्तिहरुबीचको सहकार्यमा विलम्ब गर्न नहुने सुनाए।

दाहालले दक्षिण एसिया र छिमेकी राष्ट्रमा कम्युनिस्टहरुलाई सिध्याइएको घोषणा भइरहेको सन्दर्भ कोट्याउँदै नेपालमा पनि त्यस्तै प्रतिक्रियावादी षड्यन्त्र भइरहेको चेतावनी दिए।

‘नेपाल जस्तो देशमा कम्युनिस्ट आन्दोलनको यो जबर्जस्त प्रभावलाई के गरी सिध्याउन सकिन्छ भन्ने कुरामा दुनियाँभरिका प्रतिक्रियावादीहरु लागिराखेका छन्,’ उनले भने, ‘त्यही षड्यन्त्रको परिणतिका रुपमा विभिन्न घटनाक्रमहरु भइरहेका छन्, जसलाई हामीले देखिरहेकै छौं।’

देशभक्त र वामपन्थीहरु छिटोभन्दा छिटो एक हुनुपर्नेमा जोड दिँदै उनले ढिलाइ गर्दा गम्भीर दुर्घटना हुन सक्ने औंल्याए। ‘सहकार्य आजै सकिन्छ भने आजै गरौं, भोलि सकिन्छ भने भोलि नै गरौं,’ दाहालले भने, ‘सहकार्यको निम्ति एक हुन ढिला गर्ने मनसाय राख्नु दुर्भाग्यपूर्ण हुन्छ। ढिला गर्दा दुर्घटना त्यति नै भयानक हुनेवाला छ।’

विगतमा कम्युनिस्टहरु मिल्दा जनताले झण्डै दुई तिहाइ मत दिएर अनुमोदन गरेको स्मरण गर्दै उनले उक्त एकता किन टिक्न सकेन भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने स्वीकार गरे।

सम्बन्धित समाचार