काठमाडौं । पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले ७५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । शनिबार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्लाको सिलगुडी–चम्पासारी निवासी ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस रहेका छन् । प्रहरीका अनुसार उनीहरू बाप्र०३–००१ ख ५३०४ नम्बरको यात्रुवाहक बसमा काकडभिट्टाबाट काठमाडौँतर्फ यात्रा गरिरहेका थिए । शंकाका आधारमा गरिएको खानतलासीका क्रममा उनीहरूले लुकाइछिपाइ बोकेको ७५ ग्राम ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार बरामद गरिएको पदार्थ प्रतिबन्धित लागूऔषध ब्राउन सुगर भएको प्रारम्भिक अनुमान गरिएको छ। बरामद वस्तु परीक्षणका लागि पठाइएको र दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।