काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरको उपस्थितिमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले विपद व्यवस्थापनसम्बन्धी सामग्री हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका उच्च अधिकारी तथा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बालाजु शाखा प्रमुख मदन खतिवडाको उपस्थितिमा सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक मगरले सहयोग स्वरुप प्राप्त सामग्रीले विपद् उद्धार टोलीको कार्यक्षमता अभिवृद्धि गर्ने र कठिन परिस्थितिमा जनताको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यस प्रकारको सहयोग प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे।

कार्यक्रममा आफ्नो धारणा राख्दै कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत फुयालले सशस्त्र प्रहरी देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा मुख्य भूमिकामा रहँदै आएको सुरक्षा निकाय बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित रहेको जनाउँदै अभियानमार्फत विपद्पछि मात्र होइन, पूर्वतयारीमा पनि सशक्त भूमिका खेल्नका लागि कम्पनीले आपतकालीन जोखिम व्यवस्थापनमा योगदान गर्ने उद्देश्यका साथ सामाग्री उपलब्ध गरिएको बताए ।
सन नेपाल लाइफले १५० शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपालले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस किसिमको कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।