निर्जीवन बिमा कम्पनीहरूले ११ महिनामा संकलन गरे साढे ४४ अर्ब बिमाशुल्क

0 Shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा नेपालका निर्जीवन (non-life) बिमा कम्पनीहरूले कुल ४४ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन् ।

नेपाल बिमा प्राधिकरणको मासिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीहरूले यस ११ महिनाको अवधिमा कुल २६ लाख ५१ हजार १० वटा बिमा पोलिसी बिक्री गरी कुल ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ कुल बिमाशुल्क (Premium) संकलन गर्न सफल भएका हुन् । उनीहरूको यो व्यवसायले पछिल्लो समय जलविद्युत्, सवारीसाधन र उद्योग व्यवसायको बिमातर्फ सर्वसाधारण र निजी क्षेत्रको आकर्षण बढेको देखाउँछ ।

प्राधिकरणको प्रतिवेदन अनुसार हरेक वर्ष झैँ यस अवधिमा पनि शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो व्यावसायिक बर्चस्व कायमै राख्दै उद्योगकै सबैभन्दा बढी बिमाशुल्क संकलन गरेको छ। शिखरले एकलौटी रूपमा ५ अर्ब ६२ करोड ६३ लाख रुपैयाँ संकलन गरी पहिलो स्थान ओगटेको छ ।

दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले ४ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ आर्जन गर्दा तेस्रो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब ७६ करोड ८ लाख रुपैयाँको व्यवसाय गर्दै सलिकोलाई कडा टक्कर दिएको छ। यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ९२ करोड २ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ९१ करोड २१ लाख, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड १५ लाख र नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड ८२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् ।

सूचीको मध्यम स्थानमा रहेका ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ८० करोड २१ लाख रुपैयाँ व्यापार गर्दा यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७६ करोड ६१ लाख र सानिमा जिआइसी इन्स्योरेन्सले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ बराबरको बिमा शुल्क उठाएका छन् । यता, २ अर्बभन्दा कम व्यवसाय गर्ने कम्पनीहरूको सूचीमा नेपाल इन्स्योरेन्स (१ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ) र प्रभु इन्स्योरेन्स (१ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ) रहेका छन् ।

त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ संकलन गर्दा नेशनल इन्स्योरेन्स कम्पनी भने १ अर्ब १९ करोड ७१ लाख रुपैयाँको व्यापारसहित सूचीको सबैभन्दा पुछारमा सीमित भएको छ ।

सम्बन्धित समाचार