काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार असिम शाहले पार्टीमा कुनै गुटउपगुट नभएको बताएका छन् । रास्वपाको महाधिवेशनस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीमा कुनै गुट उपगुट नरहेको जिकिर गरे ।
उनले भने, ‘सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ ।’ उनले सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट, उपगुट भन्ने कुरा यहीँ सकिएको बताए । उनले थपे, ‘पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन ।’
संविधान संशोधन कार्यदलको संयोजक रहेका शाहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसार नै हुने बताए । उनले भने, ‘दलको आ–आफ्नो धारणा हुन्छ । बहसपत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौं ।’