काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालका जीवन बिमा कम्पनीहरूले झन्डै २ खर्ब रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएका छन् ।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको ११ महिनाको मासिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका जीवन बिमा कम्पनीहरूले यस अवधिसम्ममा कुल १ खर्ब ७३ अर्ब रुपैयाँ बिमाशुल्क आर्जन गरेका हुन् । विगतका त्रैमासहरूमा झैँ जेठ महिनासम्मको व्यवसायमा पनि नेपाल लाइफ, नेशनल लाइफ, एलआईसी नेपाल र हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो बजार बर्चस्व कायमै राख्दै सर्वाधिक कारोबार गरेका छन् ।
प्राधिकरणको रिपोर्ट अनुसार निजी क्षेत्रको ठुलो बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गर्दै उद्योगकै शीर्ष स्थान सुरक्षित गरेको छ । दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले २२ अर्ब २१ करोड १६ लाख रुपैयाँ संकलन गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले १८ अर्ब ४८ करोड ३५ लाख र हिमालयन लाइफ इन्स्योरेन्सले १५ अर्ब ७९ करोड ४३ लाख रुपैयाँको बलियो कारोबार गरेका छन् ।
यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बिमा कम्पनीले १० अर्ब ६२ करोड १० लाख रुपैयाँ कमाउँदा सूर्यज्योति लाइफ इन्स्योरेन्सको व्यापार पनि १० अर्ब ५२ करोड ५० लाख रुपैयाँ पुगेको छ । कुल १४ कम्पनीमध्ये यी ६ कम्पनीले मात्रै १० अर्ब रुपैयाँको आँकडा पार गर्न सफल भएका हुन् ।
बाँकी ८ वटा जीवन बिमा कम्पनीहरूको कुल बिमाशुल्क आर्जन भने १० अर्ब रुपैयाँभन्दा कम छ । तथ्याङ्क अनुसार एशियन लाइफले ८ अर्ब ७१ करोड ५१ लाख, सिटिजन लाइफले ७ अर्ब ५९ करोड ५६ लाख, सानिमा रिलायन्स लाइफले ६ अर्ब ६४ करोड ४२ लाख, आइएमई लाइफले ६ अर्ब १७ करोड ५९ लाख र मेट लाइफ इन्स्योरेन्सले ६ अर्ब १० करोड ६५ लाख रुपैयाँ संकलन गरेका छन् ।
यसैगरी रिलायबल नेपाल लाइफले ५ अर्ब ५४ करोड ७ लाख र प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड ३३ लाख रुपैयाँको व्यवसाय गर्दा सन नेपाल लाइफ इन्स्योरेन्स भने ३ अर्ब ८३ करोड ५८ लाख रुपैयाँसहित सूचीको सबैभन्दा पुछारमा देखिएको छ ।
समग्रमा आर्थिक सुस्तताकाबीच पनि बिमा व्यवसायको यो आकारले नेपाली बजारमा बिमाप्रतिको आकर्षण र विश्वास बढ्दै गएको सङ्केत गर्छ ।