काठमाडौं । नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ अध्याय थप्दै डिगो सरकारले औपचारिक इजाजत प्राप्त गर्ने नेपालको पहिलो ओटीटी प्लेटफर्म बनेको छ। सूचना तथा प्रसारण विभागले डिगोलाई सञ्चालन अनुमति प्रदान गरेको हो।
डिसहोम डिजिटल प्रालि अन्तर्गत सञ्चालित डिगोले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै १ करोड रुपैयाँ दस्तुर बुझाएर इजाजतपत्र प्राप्त गरेको जनाएको छ। यससँगै नेपालमा ओटीटी सेवाको नियमन र व्यवस्थापनको नयाँ चरण सुरु भएको मानिएको छ।
सरकारले हालै राष्ट्रिय प्रसारण नियमावली संशोधन गरी ओटीटी सेवाहरूलाई कानुनी दायरामा ल्याउने व्यवस्था गरेपछि डिगो पहिलो लाइसेन्स प्राप्त प्लेटफर्म बन्न सफल भएको हो। इजाजतका लागि नेट टिभी र एनसेलले समेत आवेदन दिएका छन्।
हाल डिगोले विश्वभर चर्चित “FIFA World Cup 2026” का खेलहरू प्रत्यक्ष प्रसारण गरिरहेको छ। यसबाहेक नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, डकुमेन्ट्री र अन्य डिजिटल सामग्री पनि दर्शकमाझ उपलब्ध गराउँदै आएको छ।
डिजिटल मनोरञ्जनको बढ्दो मागसँगै डिगोको यो उपलब्धिले नेपाली ओटीटी उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।