बालेनका हरेक शब्दमा हुटिङ

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता एवम् प्रधानन्त्री बालेन्द्र(बालेन) शाहले व्यक्त गरेका हरेक शब्दमा प्रतिनिधिले ताली बजाएका छन् । रास्वपाको आइतबारदेखि चितवनमा सुरु भएको पहिलो महाधिवेशनमा उद्घाटन समारोहमा प्रधानमन्त्री बालेनका हरेक शब्दमा हुटिङ गरेर प्रतिनिधि ताली बजाएर प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री बालेन सम्बोधन गर्न आउँदै छन् भनेर उद्घोषक नेता भुपदेव शाहले बोलाएलगतै सबै प्रतिनिधिले उठेर ताली बजाएर स्वागत गरेका गरेका थिए । बालेनले पार्टीका बारेमा सभापति रवि लामिछानेतिर संकेत गर्दै प्राय सरकारका गतिविधिका विषयमा प्रष्टीकरण दिए ।

संसदमा आफूले व्यक्त गरेको सीमाका विषयमा प्रष्टीकरण दिँदै राष्ट्रियतामा कहिँ कतै शंका नगर्न आग्रह गरे । ‘हाम्रो गाडी लोकल होइन, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’, शाहले भने, ‘हाम्रो गाडी अनियन्त्रित छैन, चिन्ता लिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।’

साथै उनले रास्वपा प्रतिशोध साँध्ने पार्टी नभएको भन्दै विगतमा केही फट्याइँ भएको तथा सरकारी सम्पत्तिमा दोहन भएको बताए । उनले नियम कानुन नमिच्ने भन्दै कानुनभित्रै बसेर काम गर्ने र आउट अफ कन्ट्रोल नगएको बताए । ‘सीमाको विषयमा हामीले ब्रिटिसलाई मध्यस्थता गर्छौ भनेको होइन, मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन’, शाहको भनाइ छ ।

पार्टीमा गुट उपगुटका सवालमा चलिरहेको चर्चाप्रति शाहले राम्रो नेता र राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्ने बताए । ‘कुनै एउटा समूहको माया जितेर हुँदैन’, शाहले समूह बनाउने पछाडि नलाग्न सुझाव दिँदै ‘यस्तो बिउ नरोपौँ,’ उनले यही कार्यकालमा सुशासन कायम गर्ने तथा सहकारी लगायतका समस्या समाधान गर्ने भन्दै अर्को चुनावमा अर्को एजेन्डा लिएर जाने बताए ।

यस्तै बालेनले अख्तियार प्रमुखलाई ६ घण्टासम्म प्रधानमन्त्री कार्यालयमै राखेर राहदानी विभागका प्रमुखलाई पक्राउ गरेका विषयमा समेत प्रष्टीकरण दिएका छन् । विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभइ ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने बताए ।

‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियम भन्दा बाहिर जाँदैनौं,’ प्रधानमन्त्री बालेनले भने ।

बालेनले भाषण छोट्याउन खोज्दा प्रतिनिधिले हुटिङ गरेर लामो बोल्न आग्रह गरे । त्यसपछि बालेनले सरकार र पार्टीका विषयमा आफ्नो छोटो धारणा राखे । बालेनले भाषण सके लगत्तै पार्टी सभापति रबि लामिछानेलाई नेता शाहले प्रमुख अतिथिको रुपमा बोल्न आग्रह गर्दा एकाध ताली मात्रै बजेपछि उनको अनुहार मलिन देखियो ।

रबिले प्राय भाषणमा तर्कपूर्ण रुपमा राख्दा समेत एकाधले मात्रै हुटिङ गरे । जब बालेनलाई जोडेर बोल्छन् त्यसपछि प्रतिनिधिले हुटिङ गरेर ताली लगाउथे । बालेनप्रति क्रेज देखेपछि रबिले दृढतापूर्वक आफ्ना कुरा राख्दा खोज्दा समेत प्रतिनिधिबाट प्रशंसा नपाउँदा अनुहार मलिन देखिन्थ्यो ।

रबिले प्रधानमन्त्रीको रुपमा बालेनलाई पाँच वर्ष काम गर्न दिने समेत महाधिवेशन समाहरोबाट प्रष्ट पारे ।

सम्बन्धित समाचार