काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–२ स्थित राखु भगवती स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री तथा खानेपानी व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग गरेको छ।
बैंकको बेनी शाखामार्फत प्रदान गरिएको सहयोगअन्तर्गत स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानी आपूर्तिका लागि आवश्यक एचडीपीई पाइप हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
राखु भगवती स्वास्थ्य चौकीले वडा नम्बर १ र २ का करिब ६ हजार ४ सयभन्दा बढी स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। साथै स्वास्थ्य चौकीमा सञ्चालित २४ घण्टे प्रसूति सेवा केन्द्रमार्फत ग्रामीण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाले नियमित स्वास्थ्य सेवा पाउँदै आएका छन्।
स्वास्थ्य चौकीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा विशेषगरी विपन्न र सीमान्तकृत समुदायको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ। यसबाट स्वास्थ्य संस्थाको भौतिक तथा सेवा पूर्वाधार सुदृढ भई मातृ तथा शिशु स्वास्थ्यसहित समग्र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।
सिटिजन्स बैंकले हालै विभिन्न डिजिटल तथा बैंकिङ सेवाहरू विस्तार गर्दै आएको छ। बैंकले ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘सिटिजन्स जेन–जेड सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजिटल बैंक सेवा’ तथा फ्रिलान्सर लक्षित बचत खाता सञ्चालनमा ल्याएको छ। साथै मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन सेवा तथा क्रस बैंक टेलर सेवा समेत उपलब्ध गराउँदै आएको छ।
हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।