झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा

0 Shares

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

नेता खनालले माओवादी र एकीकृत समाजवादीबीच एकता घोषणा भएको लामो समयसम्म पनि वास्तविक रूपमा एकता हुन नसकेको र गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले पराजय बेहोर्नुपरेको उल्लेख गर्दै संयोजक र सहसंयोजकलाई मार्गप्रशस्त गर्न लिखित रूपमा आग्रह गरेका हुन्।

गत कात्तिक १९ गते माओवादी र एकीकृत समाजवादीबीच एकता घोषणा भएको थियो।

‘तपाईंहरूले यति लामो समयसम्म पार्टी एकीकरण नै गर्न सक्नुभएको छैन, यसबीचमा मुलुकको राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन भएको छ, यसको कुनै ठोस विश्लेषण भएको छैन,’ खनालले भनेका छन्, ‘नयाँ परिस्थितिअनुसार नयाँ राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तहरू अघि सारिएका छैनन्।’

पार्टी कार्यकर्ता र जनतालाई अब कसरी अघि बढ्ने भन्ने प्रष्ट मार्गदर्शनसमेत दिन नसकिएको उनले उल्लेख गरेका छन्।

‘यी सबै कुराले तपाईंहरूले पार्टी पुनर्गठन गर्न, बनाउन र हाक्न पनि सक्नु भएको देखिएन, यस्तो अवस्थामा पार्टीलाई महाधिवेशनसम्म व्यवस्थित रूपले पुर्‍याउन पनि गाह्रो छ, त्यसो हुँदा संयोजक र सहसंयोजकले विशेष बैठक बोलाएर मार्गप्रशस्त गर्नुहोस्।’

उनले नयाँ, योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिन आग्रह गरेका छन्। अहिलेको कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका रूपमा रूपान्तरण गर्न पनि उनले आग्रह गरेका छन्।

सम्बन्धित समाचार