काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा ह्याट्रिक हानेका छन् ।
अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् । उनको ह्याट्रिकसँगै अर्जेन्टिनाले सहज जित दर्ता गरेको छ । उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गरेका हुन् ।
छैटौँ पटक विश्वकप खेलेर नयाँ कीर्तिमानी रेकर्ड बनाएका मेस्सीले ह्याट्रिकसँगै विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानी बराबरी गरेका हुन् ।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरियाविरुद्ध खेलेपछि छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । उनले सन् २०१० को विश्वकपबाहेक पाँच विश्वकपमा गोल गरेका छन् ।
साविक विजेतासमेत रहेका अर्जेन्टिनालाई चार वर्षअघि उनकै नेतृत्वमा विश्वकप उपाधि जिताएका थिए । यस्तै, विश्वकपमा मेसीले कीर्तिमानी २७ औँ खेल खेलेका छन् ।