काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा राष्ट्रिय स्तरका ८ विकास बैंकको नाफा उल्लेख्य रुपमा वृद्धि भएको छ । यस अवधिमा उक्त विकास बैंकहरुले ६ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा यस्तो नाफा ४ अर्ब ३८ करोड रुपैयाँ थियो । अर्थात् यो अवधिमा नाफा ४२.५० प्रतिशतले वृद्धि भएको हो ।
कुन विकास बैंकको नाफा कति बढ्यो ?
सबैभन्दा धेरै नाफा बढाउनेमा लुम्बिनी विकास बैंक रहेको छ । जसको नाफा ४२८.७० प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा लुम्बिनीले ६३ करोड रुपैयाँ कमाएको छ । गत आवको सोही अवधिमा ११ करोड ९२ लाख रुपैयाँ कमाएको थियो ।
१००.५८ प्रतिशतले बढेर ज्योति विकास बैंकको नाफा ७२ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस कम्पनीको नाफा ३६ करोड १४ लाख रुपैयाँ थियो । यस्तै, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ४५.२५ प्रतिशतले बढेर ८९ करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष ६१ करोड ५४ लाख रुपैयाँ थियो ।
यस्तै, गरिमा विकास बैंकको नाफा ३९.९५ प्रतिशतले वृद्धि हुँदा मुक्तिनाथ विकास बैंकको नाफा २६.१८, कामना सेवा विकास बैंकको १६,सांग्रिला डेभलपमेन्ट बैंकको ९.४७ र महालक्ष्मी विकास बैंकको खुद नाफा ०.१३ प्रतिशतले बढेको छ ।
धेरै नाफा कमाउनेमा गरिमा अगाडि
यो अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा गरिमा अगाडि रहेको छ । गत वर्ष मुक्तिनाथ अगाडि रहेको थियो । मुक्तिनाथलाई उछिन्दै गरिमाले १ अर्ब २० करोड कमाएको छ । मुक्तिनाथले १ अर्ब १० करोड कमाएको छ ।
त्यसैगरी, धेरै नाफा आर्जन गर्नेको सूचीमा क्रमशः साइन रेसुङ्गा, ज्योति, कामना सेवा र लुम्बिनी रहेका छन् ।